काठमाडाैं / टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै घोषित आन्दोलनमै उत्रेको कांग्रेसको कोइराला पक्षले पति पत्नी दुवैलाई उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेको छ ।
असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आफ्नो पक्षका मान्छेलाई नगन्यमात्रै अवसर दिएपछि कोइराला पक्षले बन्दसूची सच्याउनुपर्ने माग गर्दै आएको छ । पार्टी कार्यालयमा धर्नादेखि छुट्टै गुट भेला गरेर गठबन्धन नै असफल पार्ने चेतावनीपछि सभापति शेरबहादुर देउवा समानुपातिकको सूची हेरफेर गरेर कोइराला पक्षलाई उचित स्थान दिन तयार हुनुभएको छ ।
त्यसो हुँदा समानुपातिकको सूचीमा परेका प्रधानमन्त्री देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जुको नाम हटाउनुपर्ने हुन्छ । पहुँचका आधारमा देउवा र खाँड दुवैले आफ्ना श्रीमतीलाई चुनिने गरी समानुपातिकको अघिल्लो नम्बरमै राखेका छन् ।
आफ्नो पक्षलाई अवसर दिन माग गर्दै कोइराला पक्षले बुधबार पार्टी कार्यालय सानेपामा धर्ना दिएको थियो भने आज बिहान गौशालास्थित एक पार्टी प्यालेसमा भेलाको आयोजना गरेको थियो । कोइराला पक्षलाई समानुपातिकमा ३० प्रतिशत दिन देउवा तयार भएको बताइएको छ । असोज १६ गतेसम्म समानुपातिकको बन्दसूची हेरफेरका लागि आयोगले समय दिएको छ ।