पाडाजुँगी/ झापाको कमल गाउँपालिका वडा नं ५ का टोल टोलका सडक किनार र सार्वजनिकस्थलमा सरसफाई कार्यक्रम सञ्चालन गरिने भएको छ । दशैंको आगमनसंगै सधैं टोलमा सरसफाई सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले वडा कार्यालयले सरसफाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
वडाध्यक्ष लालबहादुर विष्टका अनुसार सो बिषयमा वडा भित्रका टोल बिकास संस्थाहरुमार्फत वडाबासीलाई परिचालन गरिनेछ । यसका लागि मंगलबार वडाका ५ वटा टोल बिकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग वडास्थित जनप्रतिनिधि, कर्मचारी समेतको उपस्थितीमा अन्तरक्रियात्मक छलफल समेत गरिएको छ ।
सो छलफलपछि वडा कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा जनाइए अनुसार असोज १३ गते सितापुरी टोल, असोज १४ गते मंगलमय टोल , पाथीभरा टोल र फक्ताङलुङ चोलुङ टोल र १५ गते राधाकृष्ण टोलमा जनसहभागितामा सांकेतिक रुपमा सरसफाई अभियान सञ्चालन गरिनेछ । वडाले सडक मापदण्ड भित्र पर्ने क्षेत्रमा रहेका रुख तथा अन्य भौतिक, निर्माण संरचना तथा सामग्रीहरु हटाएर टोललाई सुन्दर र सफा राख्ने काममा सहयोग पुरयाउन वडाबासीलाई अपिल समेत गर्दै सरसफाई अभियानका क्रममा त्यस्ता संरचनाहरु हटाइने जानकारी पनि गराएको छ ।
