मन्त्री कार्कीले गरे प्रहरी कार्यालय भवन उदघाटन

Author Nishkarsha News
२०७९ आश्विन ११, मंगलवार २१:३१

दमक/ ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको उदघाटन भएको छ । कार्यालय परिसरमा आज मंगलबार आयोजित कार्यक्रममा १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सो भवन उदघाटन गरेका हुन ।
सो अवसरमा मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भए मात्र आम नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र ब्यवस्थित बनाउने कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले प्रहरीको गाँस बास र कपासमा सरकारले बिशेष ध्यान दिनु पर्नेमा जोड दिए । सो अवसरमा प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए ।
सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । नवनिर्मित साढे २ तले सो भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा निर्माण सम्पन भएको हो ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्