दमक/ चाडपर्वको समयमा नेपाल भारत सीमा नाका खुकुलो भएका कारण दमक बजारमा भन्सार छली गरेर भित्र्याइएका सामान छयापछ्याप्ती भएका छन । कर तथा राजश्व छली गरेर भित्र्याइएका ति सामानहरुका कारण स्वदेशी उत्पादक तथा वितरकहरुले भने ठुलो नोक्सानी ब्यहोर्नु परिरहेको जनाएका छन ।
रातारात ३ नम्बर नाका भनेर चिनिने मोरङको रतुवामाई, रंगेली, झापाको काँकरभिटटा, गौरीगञ्ज नाकाबाट भित्रिएको चिसो पेय पदार्थ डिउ, मिरिण्डा, विभिन्न ब्राण्डका जुसहरु, नेपालको जस्तै देखिने कोकाकोला लगायतका आइटमसंगै कतिपय विदेशी रक्सीहरु समेत बजारमा छयापछ्याप्ती भित्रिएका कारण स्वदेशी उत्पादक कम्पनीहरु मारमा परेका हुन ।
भन्सार तथा अन्य करहरु छल्दै भित्रिएको सामानका बिषयमा आफूहरुले स्थानीय प्रहरी प्रशासनमा जानकारी गराएपनि सम्बन्धित निकायले गम्भिरता नदेखाएको स्थानीय विक्रेताहरु बताउँछन । समाचार स्रोतहरुका अनुसार बजारमा कपडा, चिसो पेय पदार्थ चिनी, खाने तेलसंगै प्रतिबन्धित सूर्तीका आइटमहरु समेत भारतीय बजारबाट ठुला व्यापारीहरुलेनै ठुलो मात्रामा भण्डारण गरिरहेका छन ।
दमकमा नगरस्तरी बजार अनुगमन समितिले सांकेतिक रुपमा बजार अनुगमन गरेर खाद्य र अखाद्य बस्तु छुटयाउने, व्यवसाय दर्ता गरे नगरेको हेरेर सचेत गराउने काम गरेपनि भन्सार छलीका सामान भण्डारण गरिएको स्थलमा कुनै पनि निकाय पुगेको छैन ।
