विराटनगर/ प्रदेश नम्बर १ को मुख्यन्यायाधिवक्तामा अधिवक्ता परिवर्तन राई नियुक्त भएका छन । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई आइतबार मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन ।
नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको समुपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराएका छन ।
नवनियुक्त महान्यायधिवक्ता राई खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतम्छामा वि.सं.२०३५ बैशाख १ गते जन्मिएका हुन । हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारा काठमाडौंमा स्थायी बसोबास गर्दै आएका उनी यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यन्यायाधिवक्तामा नियुक्त भएका हुन ।
