दमक/ लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता एवम् कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बास्तोला तथा लेखा समितिको तर्फबाट संयोजक सुजिता पोखरेलले प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् संस्थाका सल्लाहकार समिति संयोजक बेनुप्रसाद शिवाकोटी, कमल ६ का वडाअध्यक्ष नरेन्द्र भट्टराई लगायतका अतिथीले महिलाहरुलाई संगठित गर्दै आय आर्जनका कार्यमा संलग्न गराउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए ।
संस्थाले किसानहरु लक्षित कृषिको आधुनिकीकरण, व्यवसायीकरण एवम् आयात प्रतिष्थापनमा सहयोग पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिए । रैथाने बालीहरुको संरक्षण, व्यवसायीक कृषि र पशुपालन, उन्नत मल विउ वितरण, विभिन्न निकाय सँगको सहकार्यमा कृषिको व्यवसायीकरण लगायतका क्षेत्रमा संस्थाले प्राथमिकता दिएको उनले जनाएका छन । १ हजार ७ सय २९ शेयर सदस्य तथा २ सय ७५ समुह मार्फत संस्थाले कारोवार गर्दै आएको जनाईएको छ ।
