दमक/ झापाको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका शिवसताक्षी ८ स्थित झिलझिलेका एक जना पुराना शैक्षिक तथा सामाजिक व्यक्तित्व नन्दराज राईले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन । अर्थशास्त्रमा स्नाकोत्तर तह हासिल गर्नुका साथै कृषि विज्ञानको समेत अध्ययन पूरा गरि शैक्षिक संस्थाको स्थापना गर्दै सामाजिक , व्यवसायिक र शैक्षिक क्षेत्रमा अब्बल नेतृत्वकर्ताका रुपमा स्थापित राईले वैकल्पिक स्वतन्त्र शक्तिले परिवर्तनको मार्ग खोजेको जिकिरसहित आफनो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन ।

उनी झिलझिलेमा स्थापित संस्कार फाण्डेशनका संस्थापकसंगै विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन ।
उम्मेदवारी घोषणा गर्न आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राईले मुलुक संसारमै भ्रष्टमुलुकको रुपमा दर्ज हुँदै गएको र अर्थतन्त्र संकटग्रस्त हुने दिशामा गएकोले भ्रष्टाचारको चक्र रोक्न स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेर संसदमा जनताका आवाज बुलन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । राजनीतिक दलले पाएको जनमतको सम्मान गर्न नसक्दा, दम्भ र अंहकारबाट मुक्त हुन नसक्दा जनप्रतिनिधिहरुको सेवा सुविधामा राज्यको लगानी बालुवामा पानी सरह हुन पुगेको पनि पत्रकार सम्मेलनमा उम्मेदवार राईले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । उनले आफनो तर्फबाट पूर्ण आकारको घोषणा पत्र निकट भविष्यमा नै सार्वजनिक गरिने भन्दै मुख्य प्राथमिकताका रुपमा भ्रष्टाचार, ढिलासुस्ती, मौलाहिजार र पक्षपात नगर्ने र गर्न पनि नदिने उल्लेख गरेका छन । उनले पत्रकार सम्मेलनमा आफू प्रतिनिधि सभामा निर्वाचित भएर गएपछि पाउने तलब भत्ता वापतको रकम आफनै क्षेत्रबासीको हितमा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।

झापा क्षेत्र नं ४ मा नेकपा एमालेका तर्फबाट एलपी साँवा र नेपाली कांग्रेसको तर्फबाट गठबन्धनमा आवद्ध दलहरु समेतको समर्थनमा कांग्रेस झापाका सभापति समेत रहेका नेता देउमान थेवेबीच सांसदका लागि चुनावी प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै छ । स्वतन्त्र उम्मेदवारका रुपमा अन्य कतिपय उम्मेदवारहरु पनि यो क्षेत्रमा आउन सक्ने सामाजिक सञ्जालहरुमा देखिएको छ । नन्दराज राईले लोकतन्त्रमा जनताको अभिमत लिने र जनताबाट अनुमोदित हुन पाउने अधिकार सबैलाई भएको भन्दै अन्य उम्मेदवारहरुका बिषयमा आफू कुनै टिका टिप्पणी नगर्ने बताउँदै आफू एजेण्डासहित सशक्त रुपमा चुनावी अभियानमा लाग्ने बताए ।

Facebook Comments Box