भुटानी शरणार्थी हत्या आरोपमा ९ जना पक्राउ

Author Nishkarsha News
२०७९ आश्विन ७, शुक्रबार १३:५७

दमक/ झापाको दमक नगरपालिका-३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका-५ पकुवामा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगी स्थित भुटानी शर्णार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरिरको बिभिन्न भागमा काटी गम्भिर घाईते बनाई घटना स्थलबाट  फरार भएको र घाईते गुरुङको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले चुलाचुली-४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्र कुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत ९ जनालाई  पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला  पारेर बरामद गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्‍ना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ ।  घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्