दमक/ झापाको गौरादह नगरपालिकाले आर्थिक बर्ष २०७९ ०८० का लागि विनियोजन गरेको चालू खर्चको बजेट अंक दमक नगरपालिकाको तुलनामा अस्वभाविकरुपमा धेरै देखिएको छ । तुलनात्मक रुपमा आन्तरिक आयस्रोत धेरै भएको दमक नगरपालिकाको भन्दा दर्जन बढी प्रशासनिक खर्च शीर्षकमा गौरादह नगरले बजेट बिनियोजन गरेको पाइएको हो ।
गौरादह नगरपालिकाले चालु आर्थिक बर्ष २०७९र८० को दशौँ नगरसभाबाट बिनियोजित ७८ करोड ४ लाख बजेट बिनियोजन गरेकोमा ४७ करोड १५ लाख ९९ हजार चालु प्रशासनिक खर्चमा बिनियोजन गरेको छ । पुँजीगत विकास खर्च भने ३० करोड ८८ लाख मात्र बिनियोजन भएको छ । चालु खर्चको तुलनामा विकास बजेट घटेको पाइएको हो ।
पदाधिकारीको वैठक भत्ता, पदाधीकारीको अन्य सुविधा, सञ्चार महशुल, नगरसभा खर्च, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्च, सूचना प्रणाली तथा सफ्टवेयर खर्च, अन्य सेवा शुल्क, घरभाडा, भ्रमण खर्च लगायतका शीर्षकमा विनियोजित बजेट दमक नगरको भन्दा धेरै छ ।
गौरादह नगरपालिकाले अन्य सेवा शुल्क शिर्षकमा ५० लाख रुपैयाँ बिनियोजन गर्दा दमक नगरपालिकाले २ लाख मात्र बिनियोजन गरेको छ । घरभाडमा गौरादहले २५ लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख २० हजार बिनियोजन गरेको छ । सुचना प्रणाली तथा सफ्टवेयर संचालन खर्चमा गौरादहले ३० लाख रुपैयाँ बिनियोजन गर्दा दमकले १० लाख बिनियोजन गरेको छ ।
सेवा तथा परामर्श शिर्षकमा गौरादहले ३० लाख बजेट बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी बैठक भत्ता शिर्षकमा गौरादहले ३० लाख बिनियोजन गर्दा दमकले २४ लाख बिनियोजन गरेको छ । पदाधिकारी तथा अन्य सुबिधा शिर्षकमा गौरादहले १ करोड ५ लाख बिनियोजन गर्दा दमकले ९३ लाख ७२ हजार बपनियोजन गरेको छ। अन्य भत्ता शिर्षकमा गौरादहले ५ लाख बिनियोजन गर्दा दमकले ४ लाख बिनियोजन गरेको छ । संचार महसुलमा गौरादहले १२ लाख बिनियोजन गर्दा दमकले ६ लाख बिनियोजन गरेको छ । पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन शिर्षकमा गौरादहले ४० लाख बिनियोजन गर्दा दमकले १६ लाख बिनियोजन गरेको छ । भ्रमण खर्चमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले १२ लाख बिनियोजन गरेको छ ।
नगर सभा संचालन खर्च शिर्षकमा गौरादहले १५ लाख बिनियोजन गर्दा दमकले ८ लाख बिनियोजन गरेको छ । सवारीसाधन तथा मेसिनरी औजार भाडा शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ७ लाख २० हजार बिनियोजन गरेको छ । मेसिनरी तथा औजार खर्च शिर्षकमा गौरादहले १० लाख बिनियोजन गर्दा दमकले ९ लाख बिनियोजन गरेको छ ।
जनप्रतिनिधिको भत्ता, इन्धन र दैनिक कार्य सञ्चालनमा लागि छुट्याउने चालु खर्चको दर आकाशिँदै जाँदा गौरादहको विकास खर्च दर भने त्यसअनुरुप बढेको पाइँदैन । नगरपालिकाको १० औं नगरसभाले नीति तथा कार्यक्रम मार्फत वडा सिलिङ बजेट घटाएको छ । विकास बजेट नगरमा केन्द्रिकरण गरेर मुख्य योजना नगरबाट गर्ने लक्ष्य लिएको थियो । त्यसको ठीक बिपरित नगरपालिकाले चालू खर्चमा बढी बजेट बिनियोजन गर्नु नीतिगत रुपमै भ्रष्टाचारका लागि सहज बनाइनु जस्तै हो ।
गौरादह नगरपालिका भन्दा दमक नगरपालिका ३३ बर्ष जेठो नगरपालिका हो । दमक नगरपालिकामा गौरादह भन्दा बढी सवारीसाधन, जनप्रतिनिधि र वडाहरु रहेका छन् । चालू खर्च तर्फ फजुल खर्च हुन सक्ने एक दर्जन बढी शिर्षकमा दमक भन्दा गौरादहले बढी बजेट बिनियोजन गर्नुलाई अर्थ सम्बन्धिका जानकारहरुले शंकास्पद रुपमा लिएका छन ।
के हो चालु खर्च ?
चालू खर्च भनेको निर्वाचित, मनोनीत र नियुक्त व्यक्तिहरूको तलबभत्ता तथा कार्यालय सञ्चालनको खर्च हो । एक वर्षमा उपभोग भएर जाने वा त्यसबाट भविष्यमा आय सिर्जना नहुने खर्चलाई चालू खर्च भनिन्छ । गौरादह आफैमा आर्थिक रूपमा कमजोर नगरपालिका हो । आन्तरिक स्रोत ज्यादै न्यून छ ।  तालिकामा हेर्नुहोस दमक र गौरादहको तुलनात्मक तथ्याकं-

Facebook Comments Box