संविधान दिवसमा शुभकामना दिदैं मुख्यमन्त्री राईले भने -आवधिक निर्वाचनले लोकतन्त्र थप मजबुत

Author Nishkarsha News
२०७९ आश्विन ३, सोमबार ११:२९

दमक/ संविधानसभाबाट सात वर्षअघि आजकै दिन नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरको स्मरण गर्दै आज संविधान दिवस मनाइँदैछ ।
यस अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै विभिन्न कालखण्डमा राष्ट्रिय स्वाधीनता, शान्ति र लोकतन्त्रका लागि भएका आन्दोलन तथा संघर्षहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन । मुख्यमन्त्री राईले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिवासी जनजाति र विभिन्न समुदायका संघर्षका चरणहरुको पनि स्मरण गरेका छन ।
नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको मुख्यमन्त्री राईद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
मुख्यमन्त्री राईले नेपालको संविधान–२०७२ जारी भएपश्चात् एक कार्यकाल प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भई दोस्रो कार्यकालको निर्वाचनको संघारमा रहेको र यही अवधिमा मुलुकमा स्थानीय तहको दुई कार्यकालको निर्वाचन सम्पन्न भएकाले लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिक रूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत भएको पनि उल्लेख गरेका छन ।
संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको भन्दै केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको स्थानमा विकेन्द्रीकृत र संघात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संविधानको महत्वपूर्ण उपलव्धि भएको मुख्यमन्त्री राईको ठहर छ । संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको पनि उनले जनाएका छन ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्