दमक/ गौरीगञ्ज गाउँपालिकामा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीहरुलाई कूल ८८२ जग्गाको निस्सा वितरण गरिएको छ ।
गौरीगञ्ज गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमका बीच पालिकाका विभिन्न वडा मार्फत आयोगमा परेका निवेदनहरुमाथि छानबिन गरी सो संख्यामा जग्गाको अस्थाई निस्सा वितरण गरिएकोे भुमी आयोग झापाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष फूलवती राजवंशीको अध्यक्षता र भुमी आयोग झापाका अध्यक्ष तिलक पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गा नाप नक्सांकनका लागि जग्गाको निस्सा वितरण गरिएको हो । वितरित निस्साका आधारमा अब सम्बन्धित जग्गाको नाप नक्सांकनको काम हुने जनाइएको छ ।
वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादवका अनुसार पहिलो चरणमा ३६ घरधुरी अव्यवस्थित बसोबासी, १०९ घरधुरी भूमिहीन सुकुम्बासी र ४१ घरधुरी भूमिहीन दलितको अस्थायी जग्गाको निस्सा वितरण गरिएको हो । त्यसैगरी वडा नं १ मा २०२, वडा नं. २ मा १७६, वडा नं ४ मा १८३, वडा नं. ५ मा १३५ र वडा नं. ६ मा १८६ जनाको जग्गाको निस्सा कम्प्युटरमा प्रविष्ट गरी पहिलो चरणमा निस्सा वितरण गरिएको छ ।
भुमि आयोग झापाका अध्यक्ष पाण्डेले निस्सा पाएपछि जग्गाको स्वामित्व प्राप्तीका लागि मुख्य चरण पूरा भएको बताए ।
अब थप अनुगमन गरेर जग्गा वितरणका लागि प्रक्रिया अघि बढ्छ ।’ अध्यक्ष पाण्डेले भने । गाउँपालिकाकी अध्यक्ष राजवंशीले विभिन्न कारणले सुकुम्वासी बनेका नागरिकहरूका लागि आयोगले गर्ने काममा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन । सबैको साथ र सहयोगले भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोवासीहरूलाई जग्गाको निस्सा वितरण गर्न सम्भव भएको उनको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, वडा नं. १ का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं.३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं ४ का वडाध्यक्ष फेका गिरी, वडा नं. ६ का वडाध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य अग्नुप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा नं. ३ का भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोवासीहरूको जग्गाको निस्सा दर्ता नगरेको प्रति वडा नं. ३ का अध्यक्ष श्रवण गिरीले आपति जनाएका थिए । कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी, रिता तामाङ, रमकुमारी विक, वडा सचिव युवराज दाहाल लगायतको सहभागिता थियो ।

 

Facebook Comments Box