दमक/ दमक ५ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभाले पुनः दिपक खरेलको अध्यक्षतामा आगामी ४ बर्षे कार्यकालको सञ्चालक समिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा रोशनकुमार गौतम, सचिवमा ज्ञाननाथ पौडेल र कोषाध्यक्षमा यामजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।
सञ्चालक सदस्यहरुमा भुवन चौंलागाइँ, दिपक प्रसाइँ, राजकुमार न्यौपाने, जमुना खरेल र सुवासचन्द्र गडतौला चयन भएका छन भने लेखा सुपरिवेक्षण समिति संयोजकमा ताराप्रसाद अधिकारी, एकराज प्याकुरेल र इन्दिरा काफ्ले भटटराई चयन भएका निर्वाचन समितिले जनाएको छ ।
सहकारी विभागको सर्कुलर अनुसार संस्थाको ११ औं बार्षिक साधारण सभा इकाइगत रुपमा सम्पन्न गरेको संस्थाले माइन्यूट प्रमाणिकरण तथा उत्कृष्ट शेयर सदस्य पुरस्कृत गर्न आज (बिहिबार) आयोजित कार्यक्रममा संस्थाको सञ्चालक समिति र लेखा समितिको घोषणा गरेको हो । संस्थाले बिष्णु सुब्बाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठको प्रमुख आतिथ्य र उद्योगपती एवं जनमुखी सहकारी संस्थाका सल्लाहकार संयोजक ऐश्वर्य प्रसाद तिम्सिनाको विशेष आतिथ्यमा भएको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिनालाई विशेष सम्मान गरिएको थियो । त्यसैगरी सो अवसरमा संस्थाले उत्कृष्ट शेयर सदस्यका रुपमा दमकका अमित अग्रवाल, सन्दिप साहेवाला लगायत ५ जना, विर्तामोडका चन्द्रकुमार प्रसाई, ज्योती खरेल, विष्णु प्रसाद घिमिरे, लक्ष्मी सापकोटा, मित्र घिमिरे लगायत, सुरुगांकी रिना राई लगायतलाई पुरस्कृत गरेको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा लोकेन्द्र बहादुर धिमाल र रुपा रानामगरलाई नगद ९ हजार ५ सय १ रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष गौतमले कार्यक्रममा दमकमा सानो पुँजीबाट शुरु भएको द एभरेष्टले आफनो कार्यक्षेत्र विस्तार प्रदेश एकका विभिन्न ठाउँमा कारोबारमा समेत सन्तोषजनक प्रगति गरिरहेको उल्लेख गर्दै द एभरेष्ट सहकारी मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढिरहेको बताए । उनले दमकमा केही एकाध सहकारी संस्थाहरु लगभग सञ्चालक समितिबिहिन रहेका र सम्पूर्ण कारोबार कर्मचारीका भरमा मात्रै भइरहेकाले त्यस्ता संस्थाका कर्मचारीहरु आफू सिसाको घरमा बसेर अर्कालाई ढुंगा हान्ने खोजिरहेको टिप्पणी गरे । उपाध्यक्ष गौतमले भने- द एभरेष्ट पूर्ण रुपमा सञ्चालक समिति र उपसमितिहरु क्रियाशील रहेर सञ्चालित संस्था हो , हामी राजनीतिक, सामाजिक , व्यवसायिक सबै रुपमा यहाँ स्थापित व्यक्तित्वहरु यो संस्थाको सञ्चालकका रुपमा हुनुहुन्छ , काम चलाउ सञ्चालक समिति बनाएर चलाएको संस्था होइन , जिम्मेवार सञ्चालकहरु छौं, हामीप्रति कसैले प्रहार गर्छ भने जवाफ दिन पछि पर्दैनौं ।
सभामा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक राजकुमार न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा अध्यक्ष खरेलले संस्थाको शेयर पुँजी ७ करोड ७ लाख २ हजार रुपैया पुगेको र बचत संकलन ४ अर्ब ७७ करोड ९ लाख ३८ हजार ५१९ रुपैया पुगेको जानकारी दिए । अन्य बचत तर्फ ५९ लाख १९ हजार २५९ रुपैया गरी जम्मा बचत ४ अर्ब ७३ करोड ५३ लाख ७९ हजार ९९८ रुपैया पुगेको छ । संस्थाले बार्षिक कारोबारबाट भएको नाफा रकमलाई सहकारी ऐन तथा सञ्चालन सम्बन्धि व्यवस्था अनुसार विभिन्न कोषहरुमा बाँडफाँड गरेको संस्थाका व्यवस्थापक नवराज बाँस्तोलाले जानकारी दिए । संस्थाले गत शनिवार केर्खा सेवाकेन्द्र बाट सुरु गरेको साधारणसभा क्रमश सुरुङ्गा, विर्तामोड, बुधवारे, उर्लावारी हुँदै भदौ २९ गते दमक सेवा केन्द्र स्तरीय साधारण सभा गरेर आज बिहिबार सम्पन्न गरिएको संस्थाका प्रशासन प्रमुख धर्मानन्द भटटराईले जानकारी दिए ।



