दमक/ दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारण सभा सोमबारदेखि शुरु गरेको छ । संस्थाको कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा सहकारी अभियान्ताहरुको विशेष उपस्थितीमा सभाको उदघाटन गरिएको हो ।
साधारण सभाको उदघाटन गर्दै नगर प्रमुख रामकुमार थापाले वित्तिय अनुशासनलाई ख्याल गर्दै सावधानीपूर्वक सहकारी संस्थाहरु सञ्चालन गरिनुपर्ने बताए । उनले धेरै सहकारीहरुका माझमा सूयदर्शन सहकारी एक अग्रणी संस्थाका रुपमा उभिएको आफूले महसुस गरेको उल्लेख गर्दै शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष टिकाराज सापकोटाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०७८र ०७९ को एक अर्ब ९५ करोडको वासलात प्रस्तुत गरे । संस्थालाई प्रविधि मैत्री बनाइएको बताउँदै कुनै पनि कोणबाट संस्थामा वित्तिय जोखिम नरहेकाले निसंकोच कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे ।
प्रतिवेदनमा संस्थाको शेयर पुँजी १२ करोड ९० बाट बृद्धि भई १६ करोड ७१ लाख रुपैयाँ पुगेको उल्लेख छ । त्यसैगरी संस्थाको गत बर्षको खुद नाफा एक करोड ८७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ ।
झापाको भद्रपुर र मेचीनगर बाहेकका सबै पालिकामा कारोबार गर्न सकिने गरिको कार्यक्षेत्र रहेको भएपनि दमकमै केन्द्रित रहेर कारोबार गर्ने गरिएको अध्यक्ष सापकोटाले बताए । त्यसैगरी सभामा लेखा समिति संयोजक डिल्लीराम मुखियाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गरेका थिए ।
सो साधारण सभा चरणबद्ध रुपमा सञ्चालन गर्दै ३१ भाद्रमा समापन हुने जनाइएको छ । सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै बेलडाँगी र कमल ६ को वडा कार्यालयमा पनि साधारण सभाको संक्षिप्त रुप सञ्चालन हुने जनाइएको छ ।
सभाको उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, सहकारी अभियान्ताहरु प्रेम प्रसाद कोइराला, खोम प्रसाद बगाले, तुलाराम न्यौपाने ,राष्टिय सहकारी बैंक दमककी प्रमुख मुना केसी लगायतको विशेष उपस्थिती रहेको थियो । सो अवसरमा संस्थाले विभिन्न विधामा एक सय बढी शेयर सदस्यहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले जानकारी दिए ।
