दमक/ एक साताका बीचमा दमक र कमलमा सञ्चालित विभिन्न सहकारी संस्थाहरुले आआफनो संस्थाका सदस्य तथा ऋणीका नाममा ऋण चुक्ता गर्न आउने ब्यहोराका सार्वजनिक सूचना दैनिक जसो जारी गरिरहेका छन ।
सहकारी संस्थाहरुले फरक फरक नामका ऋणीको नाममा ऋणीलाई ऋण अर्थात भाखा नाघेको कर्जाको साँवा ब्याज बुझाउन अन्यथा धितो लिलाम गर्ने चेतावनीसहितको सूचना पनि जारी गरिरहेका छन । दमक र आसपासका प्रायः जसो नाम चलेका सहकारी संस्थाहरुले चालू आर्थिक बर्ष शुरु भएको गत साउन यता धमाधम उस्तै प्रकृतिका ऋण तिर्न आउने बारेका सूचना जारी गर्ने क्रम तिब्र छ ।
दमक नगरपालिकाले हालसालै सहकारी संस्थाका शेयर सदस्य तथा संस्था सञ्चालक र कर्मचारीहरुलाई लक्षित गरेर सहकारी ऐन, नियम , विनियम र तोकिएका मापदण्डको पालना गर्दै साधारण सभामा आआफू संग सम्बन्धित सहकारी संस्थाका बिषयमा सक्रियतापूर्वक छलफलमा सहभागी हुन सार्वजनिक सूचनानै जारी गरेको थियो ।
आईतबार सहकारी विभागले जारी गरेको सार्वजनिक सूचनाले सामाजिक सञ्जाल तताएको छ । विभागले विशेष गरी सहकारी संस्था सञ्चालनको जिम्मेवारीमा रहेका सञ्चालकहरुलाई लक्षित गर्दै जारी गरेको सूचनाका अनुसार विभागमा संस्थाका विभिन्न जिम्मेवारीमा रहेका सञ्चालकहरु आफनो नाम सञ्चालकको रुपमा रहेको जानकारी नै भर्खर पाएको, अन्जानमा सहकारीका विभिन्न पदमा बसेको जस्ता तर्क पेश गर्दै धाउन थालेको उल्लेख छ ।
विभागले सार्वजनिक सूचना मार्फत आम सबै सहकारी संस्थाका सम्बन्धित सञ्चालकहरुलाई आआफनो पदीय दायित्व र जिम्मेवारी अनुसारको भुमिका सक्रियतापूर्वक निर्वाह गर्न सुचित गरेबाट त्यस किसिमका सहकारी संस्थाहरु कुनै न कुनै रुपमा वित्तिय जोखिममा रहेको संकेत गर्छ ।
के कारण परे जोखिममा ?
सहकारी संस्थाहरुले निक्षेपक कर्ताहरुको निक्षेप रकम फिर्ता गर्न नसक्ने चरणमा पुग्नुलाई जोखिममा परेको भनि आम नागरिकले बुझने गर्छन । तर सहकारी सम्बन्धिका जानकारहरुका अनुसार सहकारी संस्थाले तोकिएका कानुनी मापदण्डहरु उल्लंघन गर्दै कारोबार गर्नुनै सहकारीलाई वित्तिय जोखिममा पार्ने संकेत हो भन्ने बुझनु पर्ने हुन्छ ।
संस्थामा तोकिएको शेयर पुँजी वापतको रकम दाखिला नहुनु, संस्थाका सदस्य बचतकर्ताहरुबाट आवधिक बचत भन्दा चल्ती बचत खातामा बढी निक्षेप स्विकारिनु , बढी निक्षेप संकलन गर्ने होडमा तोकिएको दर भन्दा बढी ब्याजदरको प्रलोभन देखाएर निक्षेप संकलन गरिनु, संस्थाका सदस्यहरुलाई गरिएको कर्जा लगानीको ब्याज तथा म्याद पुगेको साँवा रकम फिर्ता नहुनु र कागजी प्रकृयाका लागि ऋणको नविकरण मात्रै गरिनु, अनुत्पादक क्षेत्र ( जस्तै निजी प्रयोजनका सवारी, घर, जग्गा) आदिको खरिद प्रयोजनका लागि निक्षेप रकम खर्च गरिनु, कार्यालय तथा कर्मचारी व्यवस्थापनका नाममा खर्चको मात्रा धेरै गरिनु आदि आदि नै सम्बन्धित सहकारी संस्था वित्तिय जोखिममा पर्ने संकेत हुन ।
सयौं ऋणीको धितो लिलाम हुने खतरा
यसैबीच दमक नगर कमल गाउँपालिकामा सञ्चालित सहकारी संस्था एवं बैंकहरुबाट कर्जा लिएका धेरै ऋणीहरुको धितो लिलाम हुने संकेत देखिएको छ । विभिन्न व्यवसायिक प्रयोजन देखाएर वित्तिय संस्थाहरुबाट लिएको ऋण अर्थात कर्जा रकम नाफा धेरै कमाउने होडमा घर जग्गामा लगानी गरेका र घर जग्गा, अन्य व्यापार ब्यवसायको माध्यमबाट कर्जा तिर्ने योजना बनाएर महंगा सवारी साधन खरिद गरेका धेरै जसो ऋणीहरुले अहिले कर्जाको किस्ता रकम तिर्न सकेका छैनन । प्रायजसो बैंक र सहकारीमा आलोपालो गरी कर्जा लिने र कर्जा वापतको रकम घुमाउने अभ्यास गर्दै आएका ऋणीहरुले यतिबेला बैंक र सहकारीबाट समेत मोटो रकम पाउन सकेका छैनन ।
जसका कारण एक बर्ष अघिको जस्तो एक ठाउँबाट ऋण लिएर अर्को ठाउँको ऋण तिर्ने प्रकृया अहिले अवरुद्ध भएको छ । यसले गर्दा बजारमा धेरै जसो ऋणीहरुको धितो लिलाम हुने र ऋणीनै पलायन हुने क्रम उच्च छ ।
समाचार स्रोतहरुका अनुसार आउँदो मसिंर सम्ममा झापाको पश्चिम भुगोल दमक र आसपासका क्षेत्रका पाँच सय भन्दा बढी ऋणीको धितो लिलाम प्रकृया अघि बढने देखिन्छ । जग्गाको कित्ताकाट नखुल्दा घर जग्गाको किनबेच नभएको कारण कर्जा तिर्न नसक्ने अवस्था आएको सम्बन्धित व्यवसायीहरुको तर्क छ । कोही कर्जाको ताकेताबाट दिक्क भएर त कोही खुकुलो नियमन र प्रहरी प्रशासनको कमजोरीको फाइदा उठाउँदै फरार हुने क्रम पनि बढेको छ । केही समय यता यस किसिमको प्रकृयामा बैंक तथा सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरु समेतको संलग्नता देखिएपछि ऋणी, एक बैंकको ऋण अर्को बैंकमा स्थानान्तरण गर्ने गराउने धन्दाका गिरोह फरार हुने क्रम बढेको हो ।