दमक/ नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघ झापाको नवौं जिल्ला सम्मेलनको बन्द सत्रले आसन्न निर्वाचनमा महिलाहरुलाई ५० प्रतिशत सिट आरक्षण गरिनुपर्नेसहित समसामयिक बिषयमा १३ बुँदे प्रस्तावहरु पारित गरेको छ । प्रदेश र संघीय निर्वाचनमा सिंगो जनसंख्याका आधारमा कम्तीमा ५० प्रतिशत महिलाहरुको उम्मेदवारी सुनिश्चित गर्न पनि पार्टीहरुसंग जोडदार माग गरिएको छ ।
४ भदौमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेपछि स्थगित रहेको सम्मेलनको हिजो आइतबार सम्पन्न बन्द सत्रले पवित्रा पाठकको अध्यक्षमा १४५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको पनि जनाइएको छ ।
सम्मेलनको बन्द सत्रले महिला बिरुद्धका सम्पूर्ण अपराधलाई शुन्य सहनशीलता कायम गर्दै न्याय स्थापित गर्न सरकारसंग जोडदार माग गरेको छ । त्यस्तै पार्टीको केन्द्रीय कमिटीबाट आगामी मसिंर ४ मा हुने संघीय निर्वाचनमा पार्टीले बहुमत प्राप्त गरी अध्यक्ष केपी शर्मा ओलीलाई बहुमतसहित भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णयको स्वागत पनि गरेको छ । सम्मेलनले टोल टोलमा संगठन घर घरमा सदस्यता वितरणको अभियानलाई व्यवस्थित र सुदृढ गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।
पार्टी केन्द्रीय सदस्य समेत रहेकी अनेमसंघ राष्टिय सम्मेलन आयोजक कमिटी सचिव मेनुका काफले, संघकी नवनिर्वाचित जिल्ला सचिव लीला ढुंगेल दाहाल लगायतले सम्मेलनको बन्द सत्रबाट पारित प्रस्तावहरु आज (आइतबार) अनौपचारिक रुपमा दमकमा पत्रकारहरुसंगको भेटघाटमा सार्वजनिक गरेका हुन ।