दमक/ चाड पर्वको याम शुरु भइसक्यो । व्यापारीहरु दशैं तिहार लगायतका चाड पर्वमा खपत हुने व्यापारीक सामग्री अर्थात दशैं लक्षित सामानको व्यवस्थापनमा जुटने बेला हो यो । व्यापारीहरु लत्ता कपडादेखि दैनिक उपभोग्य र पर्व विशेषको खरिद योजनामा छन । हरेक बर्षको भदौ शुरु भएदेखिनै व्यापारीहरु चाडपर्व लक्षित व्यापारमा केन्द्रित हुँदै सामान भण्डारण गर्ने तयारीमा हुने गरेका थिए ।
त्यसका लागि वित्तिय संस्थाहरु ( बैंक र सहकारी) असल कारोबारी ग्राहक पहिचानमा हुन्थे र प्रतिस्पर्धामा लगानी गर्थे । यस बर्षको परिस्थिती बिल्कुल फरक छ । तिज सकिएको साता बढी समय बितिसक्दा पनि न त बजारमा उपभोक्ताको चहलपहल छ न व्यापारीहरु लगानीका लागि नै तयारीमा छन ।
यसको प्रमुख कारण बैंक तथा सहकारी संस्थाहरुले बजारमा कर्जा प्रवाह अघोषित रुपमा बन्द नै गरेका छन । पैसाको व्यापार गर्ने संस्थाहरुनै पैसाको अभाव देखाउँदै लगानी गर्न तयार नहुँदा व्यवसायी तथा ठुला लगानीकर्ताहरु मौन जस्तै बसेका छन ।
स्पष्ट र ठोस रुपमा उनीहरुले यसको कारण नखुलाएपनि तत्काल बैंकका ग्राहकहरुलाई बैंकले लगानी गर्ने संकेत देखिएको छैन । कर्जा कहिलेबाट प्रवाह हुन्छ ? भन्ने बिषयमा स्वयं बैंकका कर्मचारीहरु समेत अनभिज्ञ छन ।
दमकको एक निजी बैंकमा कार्यरत कर्मचारी भन्छन ऋण लगानी कहिलेबाट खुल्छ भनेर सोध्ने ग्राहकको सूची लामो छ । धेरै फायलहरु पेण्डिगंमा छन स्वीकृत भएको कर्जा रकम पनि अहिले उपलब्ध छैन ।
बैंकहरुले लगभग १० महिना यता कर्जा प्रवाह एकदमै न्यून मात्रामा गरिरहेकोमा पछिल्लो बैशाख यता लगभग शुन्य जस्तै छ । बैंकबाट ऋण लिएर घर जग्गाको कारोबार गर्न अभ्यस्त तथा बाध्यतामा परेका सर्वसाधारण भने बैंकको नियमित किस्ता तिर्नुपर्ने तिब्र दबाबमा छन । बैंकहरुले ग्राहकको मागलाई ध्यानमा राखेर लगानी नगर्ने हो भने सर्वसाधारणको बैंकप्रति नकारात्मक सोचको बिकास भएर जाने निश्चित छ ।
सहकारीको भरमा व्यवसायीहरु
बैंकहरुले आफनो विज्ञापन तथा नाराहरुमा जतिसुकै राम्रा स्किमहरु सार्वजनिक गर्ने गरेका भएपनि यतिबेला व्यवसायी तथा सर्वसाधारणको कर्जा मागलाई जसोतसो सहकारी संस्थाहरुलेनै धानिदिएका छन ।
सहकारी संस्थाहरुले आफनो कोषहरुको अवस्था र तरलतालाई ध्यानमा राख्दै एक दुई लाखदेखि १० लाख रुपैयाँ सम्मको लगानी छिटफुट रुपमा भएपनि गर्ने गरेका पाइन्छ ।
सहकारी सम्बन्धिका एक जना जानकार झापा दमकका चुडामणी ओझा भन्छन – बरु सहकारीहरुले २/ ४/ ५ लाख रुपैयाँ लगानी गरिरहेका छन । महिनामा ३०/ ४० लाख रुपैयाँ सानो पुँजी भएका सहकारीले पनि बजारमा लगानी गरेका पाइन्छ तर बैंकहरुले एक लाख पनि लगानी गरेको पाइँदैन ।
यसबाट हामीले सर्वसाधारणलाई सहकारीको महत्व बुझाउन अझ सजिलो भएको महसुस गरेका छौं ।
बैंकले पहिला गरे जस्तो एकैपटकमा ठुलो लगानी त गर्ने अवस्था हुँदैन तर पनि दैनिक व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई थोरबहुत कर्जा रकम खाँचो हुन दिइएको छैन- उर्लाबारीस्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले भने ।
मोटो लगानीको आशा गर्नेहरुका लागि होइन सहकारी भनेको आफना सदस्य बचतकर्ताहरुको व्यापार व्यवसायमा निरन्तरता र समय अनुसारको कारोबार बढाउनका लागि सहकारीले भरथेग गरिरहेका छन – उनले भने ।
रेमिटयान्स र सरकारी पैसाको आशा
यतिबेला बैंकहरुको लगानी शुन्य र सहकारीहरुबाट समेत न्यून मात्रामा लगानी भइरहेका बेला बजारमा आर्थिक स्रोतको हाहाकार जस्तै छ । यो अवस्था कहिले सम्म लम्बिने हो ? भन्ने यकिन त छैन तर मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले नै देशमा पैसाको अभाव छ , कर्मचारीलाई तलब खुवाउन विदेशको भर पर्नु पर्ने अवस्था छ भनेर चाडपर्वको मुखमा सार्वजनिक रुपमै दिएको वक्तव्यको नकारात्मक असर बजारमा प्रशस्तै परेको छ ।
प्रधानमन्त्री देउवाको भनाईलाई सकारात्मक रुपमा ग्रहण गर्ने हो भने भोलीका दिन असहज हुन सक्छन त्यसकारण सबै जिम्मेवार भएर लागौं भन्ने आशय पनि हुन सक्छ तर त्यस्तो अवस्था निम्तिनुका पछाडीको कारणका बारेमा पनि राज्य पक्ष मुकदर्शक हुन मिल्दैन ।
त्यसलाई अलग राखेर बजारको पूर्वानुमान गर्ने हो भने अपवाद बाहेक अब दशैं अघि विदेशबाट दुख सुख धेरै नेपालीहरुले घर खर्च गर्न परिवारका लागि पैसा पठाउने छन र मुलुकमा रेमिटयान्स भित्रिनेछ । अर्कातिर कर्मचारीहरुको दशैं भत्तासहित तलब निकासा हुँदा बजारमा थोरबहुत भए पनि पैसा भित्रिनेछ र दशैं बजार यसैमा निर्भर रहनेछ ।

Facebook Comments Box