दमक/ दमक ५ गोर्खाली टोलस्थित कान्तीपुर एजुकेशन फाउण्डेशनमा अध्ययन गरी इपिएसले लिएको कोरियन भाषा परीक्षा उत्तिर्ण हुने बिद्यार्थीहरुका लागि एक दिवसीय अभिमुखीकरणसहित बधाई शुभकामना कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।

फाउण्डेशनमा आयोजित सो कार्यक्रममा हालै प्रकाशित नतिजा अनुसार कोरियन भाषा परीक्षा उत्तिर्ण भई रोजगारीका लागि कोरिया जान पाउने प्रकृयामा रहेका बिद्यार्थीहरुलाई भाषा प्रशिक्षक राम पौडेलले आवश्यक अभिमुखीकरण प्रदान गरेका थिए ।
उनले बिद्यार्थीहरुलाई भाषा परीक्षा उत्तिर्ण हुनु मात्रै कोरिया जान पाउनु भएको नभई आवश्यक तालिममा छनोट हुनु, स्वास्थ्य परीक्षणमा स्वस्थ रहेको रिपोर्ट पाउनु र कोरियामा कामदार लिन चाहने कम्पनीको रोजाईमा पर्नु लगायतका प्रकृया पुरा गर्न अझै बाँकी रहेको जानकारी गराए ।
उनले कोरियाले कामदारहरुको आचरण र अनुशासनलाई पनि महत्वमा राख्ने भएका कारण आवश्यक साबधानी अपनाउन बिद्यार्थीहरुलाई सुझाव दिए । लामो समय कोरिया बसाईपछि नेपाल फर्किएका पौडेल विगत १३ बर्षदेखि कोरियन भाषा प्रशिक्षकका रुपमा दमकमा कार्यरत छन ।
उनीसहितको समुहले दमकमा ७ बर्ष अघि कोरियन भाषासहित अन्य विभिन्न शैक्षिक तथा भाषिक परीक्षामा सहजीकरण गर्ने उद्धेश्यले स्थापना गरेको कान्तिपुर एजुकेशन फाउण्डेशनले अति विपन्न युवाहरुलाई भाषा अध्ययन र तथा प्राविधिक बिषयहरुको अध्ययनमा छात्रवृत्ती समेत उपलब्ध गराउँदै आएको सञ्चालक मध्येका अनिस चापागाइँले जानकारी दिए । सो फाउण्डेशनमा अध्ययन गरेका करिब २ हजार ५ सय जना भन्दा बढी बिद्यार्थी इपिएसले लिएको भाषा परीक्षा उत्तिर्ण भई रोजगारीका लागि कोरिया गइसकेका छन । पछिल्लो समय नेपाल सरकारले गरेको श्रम सम्झौता अनुसार तत्कालै देशभरबाट २ हजार नेपाली युवाहरु रोजगारीका लागि कोरिया जान पाउनेछन ।
