दमक/ झापा दमक ४ स्थित लक्ष्मी स-मिलका सञ्चालक तथा दमकका व्यवसायी नेता दिनेश प्रसाद सुवेदी विरुद्ध वन पैदावर चोरी निकासीमा झापा जिल्ला अदालतले पक्राउको आदेश जारी गरेको छ । डिभिजन वन कार्यालय भद्रपुर झापा अन्तर्गतको दमक सव डिभिजनले मिसिल पेश गर्दै उनलाई पक्राउ गर्ने आदेश समेत लिएको छ ।

बिहिबार अदालतले पक्राउ आदेश जारी गरेको डिभिजन वन कार्यालय भद्रपुर स्रोतले जनाएको छ । सुवेदीले सञ्चालन गर्दै आएको दमक ४ स्थित सो स मिलमा भण्डारण गर्दै गरेको अवस्थामा पाँच जनालाई प्रहरीले सिसौको गोलिया र साइकलसहित पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ परेकाहरुको नाम ठेगानासहित बरामद साइकल तथा काठको विवरण तस्विरसहित सञ्चार माध्यमहरुलाई उपलब्ध गराएपनि ति काठको चोरी निकासीका मुख्य नाइके सुवेदीका बारेमा सार्वजनिक गरेको थिएन ।
वादी नेपाल सरकार र प्रतिवादी विवेक लिम्बुसहित भएको विना इजाजत वनपैदावर चोरी निकासी मुद्धामा फरार सुवेदीलाई तत्काल पक्राउ गरी थप अनुसन्धान गर्नुपर्ने भएको हुँदा वन ऐन २०७६ को दफा ५८ (१) अनुसार पक्राउ गर्ने अनुमतिका लागि परेको निवेदन अनुसार अदालतले  पक्राउको अनुमति दिएको हो ।

सो मुद्धामा पक्राउ गर्नुपर्ने भनिएका सुवेदी दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्य समेत भएका बताइएको छ ।

Facebook Comments Box