दमक/ दमक उद्योग बाणिज्य संघको आयोजना तथा व्यवसायिक सीप बिकास तालिम केन्द्र भद्रपुरको सहयोगमा दमकमा महिलाहरुलाई केश श्रृंगार सम्बन्धीको तीन महिने तालिम शुरु भएको छ । तालिमको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरका कार्यालय प्रमुख कृष्णा श्रेष्ठले उद्घाटन गर्दै महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने योजनामा दमक उद्योग वाणिज्य संघसंगको सहकार्य नमुना हुने विश्वास व्यक्त गरिन ।
उनले सो तालिममा सहभागी भएर सीप सिकेका दक्ष महिलाले व्यवसायिक रुपमा केश श्रृंगारको व्यवसाय सञ्चालन गर्न चाहेको अवस्थामा कार्यालयले विभिन्न निकायसंगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन । सरकारको नीति कार्यक्रम अनुसार स्थानीय तहसंगको समन्वयमा आर्थिक व्यवस्थापन गर्न पनि सहयोग गर्ने उनको भनाई थियो । तालिम सिकेपछि उद्यमी बन्न पनि उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरिन ।
दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा तालिम केन्द्रका प्रशासकिय अधिकृत रमेश कोईरालाले तालिमको महत्वलाई बुझेर सक्रिय सहभागिता जनाउन महिलालाई आग्रह गरे ।
कार्यक्रमका संयोजक समेत रहेका संघका कार्यसमिति सदस्य चन्द्र खत्रीले केही समय अघि संघले सञ्चालन गरेको रोजगार मेलामा सहभागीहरुले माग गरे अनुसार प्राथमिकतासाथ सो तालिम सञ्चालन गरिएको बताए । तीन महिना सम्म सञ्चालन हुने सो तालिममा २४ जना सहभागी रहेका दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए । उदघाटन कार्यक्रमको सञ्चालन संघका प्रथम उपाध्यक्ष राजु खडकाले गरेका थिए भने सल्लाहकार समिति सदस्यहरु इन्द्र श्रेष्ठ, हरि अधिकारी, संघका कार्यसमिति सदस्यहरु भरत चम्लागाइँ लगायतको उपस्थिति रहेको थियो ।

