दमक/ निजी बिद्यालयहरुको छाता संगठन प्याव्सन दमक नगर समितिले अन्तरबिद्यालय अतिरिक्त कृयाकलाप प्रतियोगिता सञ्चालन गरेको छ ।
आज दमक ५ स्थित सर्वोदय अंग्रेजी माविमा आयोजित सो प्रतियोगिताको उदघाटन कार्यक्रममा निजी बिद्यालयका प्रतिनिधि एवं सरोकारवालाहरुले निजी शिक्षण संस्थाहरु दोहोरो तेहोरो करको मारमा रहेको बताउँदै त्यसलाई हटाउनु पर्ने आवाज उठाएका छन ।
सो अवसरमा दमक नगर उपप्रमुख रेगिना भट्टराईले मानव विकासको लागि शिक्षा पहिलो आधार भएको बताइन । भट्टराईले बिद्यार्थीहरुलाई औपचारिक शिक्षासंगै व्यवहारिक ज्ञानको आवश्यकता पर्ने बताइन । उनले दक्ष जनशक्ती उत्पादका लागि निजी बिद्यालयहरुको भुमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरिन । शिक्षा क्षेत्रमा निजी बिद्यालयको योगदानको उचित कदर गर्न स्थानीय सरकार तयार रहेको उपप्रमुख भटटराईको भनाई थियो ।
प्याब्सन दमक नगर अधयक्ष जनार्दन मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नविन योगीले गरेका थिए । दमकमा रहेका ३५ वटा निजी बिद्यालयका बिद्यार्थी सहभागी कार्यक्रममा कविता वाचन तथा लेखन, अंग्रेजी स्पेलिंग, क्विज, चित्रकला, निबन्ध लेखन लगायतका विधामा प्रतियोगिताहरु सञ्चलन गरिएको थियो । प्रतियोगिताका सहभागी उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

