दमक/ नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको क्षेत्र नं ५ अन्तर्गतका प्रदेश सभा क र खबाट प्रत्यक्ष तर्फ दुई जनाका लागि कूल १६ जनाको नाम सिफारिस गरेको छ ।
हालका प्रदेश सभा सदस्य अर्जुन राई , अध्यक्ष ओलीका सांसद प्रतिनिधि समेत रहेका पार्टीका प्रदेश कमिटी सदस्य होमबहादुर थापा, इन्द्र भण्डारीसहित सिफारिस भएका ति नाम प्रदेश सभा क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला कमिटी हुँदै पार्टीको एक नम्बर प्रदेश कमिटीमा पठाइएको छ ।
एमाले झापाका एक नेताका अनुसार दमक नगरपालिका र तत्कालिन लखनपुर गाविसको भुगोल समेटिएको निर्वाचन परिणामको निर्णायकको फैसला गर्न सक्ने क्षेत्र खमा प्रत्यक्ष तर्फ मात्रै पार्टीले ९ जना आकांक्षीको नाम प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
क्षेत्र खबाट राई र थापासंगै सिफारिसमा पर्ने भण्डारी लामो समय अध्यक्ष ओलीको प्रमुख स्वकिय सचिवका रुपमा समेत जिम्मेवारी निर्वाह गरि हाल प्रदेश कमिटी सदस्य समेत छन ।
त्यस्तै पूर्व दमक नगर अध्यक्ष बोधप्रसाद घिमिरे, लखनपुर निवासी बलराम गजुरेल र दमक ४ का पूर्व वडाध्यक्ष कुमार साम्सुहाङको नाम पनि प्रत्यक्ष तर्फनै प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको एमाले स्रोतले जनाएको छ । प्रदेश सभा सदस्यको उम्मेदवार सिफारिसमा पर्नेमा तीन महिला नेतृ पनि छन ।
लामो समयदेखि पार्टी र जनवर्गीय संगठनका रुपमा रहेको अनेमसंघको जिल्ला नेतृत्वमा रहेर जिम्मेवारी निर्वाह गरिरहेकी दमक निवासी लिला ढुंगेल दाहाल , नर्वदा गौतम र उर्मिला ओलीको नाम पनि प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएको छ ।
त्यसैगरी प्रदेश सभा क्षेत्र कबाट प्रदेश एक सरकारका पूर्व मन्त्री हिक्मत कार्कीसहित ७ जनाको नाम सिफारिस भएको छ । युवा नेता कार्कीसहित सो क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि मदन अधिकारी, योगराज दाहाल, केदार ढुंगेल,अमर शिवाकोटी, शारदा पराजुली र गेहनाथ पौडेलको नाम सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ ।