दमक/ प्रतिनिधि सभा सदस्यका लागि आगामी मसिंर ४ मा हुने निर्वाचनमा झापाको क्षेत्र नं ४ मा एमाले सांसद लालप्रसाद साँवा ( एलपी) र कांग्रेस झापाका सभापति देउकुमार थेवे दोश्रो पटक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एमालेका तर्फबाट साँवा र कांग्रेसका तर्फबाट थेवेको नाम उम्मेदवारका लागि ति पार्टीहरुले सर्वसम्मत रुपमा माथिल्लो कमिटीमा सिफारिस गरेपछि उनीहरुबीच दोश्रो पटक चुनावी भिडन्त पक्का भएको हो । कांग्रेसको क्षेत्रीय समितिले दुई दिन अघि थेवेको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको थियो भने एमालेको क्षेत्रीय कमिटीले सोमबार साँवाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

कांग्रेस अहिले नेकपा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चासहितको गठबन्धनको नेतृत्व गर्दै चुनावमा जाँदैछ । कांग्रेसले सर्वसम्मत रुपमा सभापति थेवेको नाम सिफारिस गरेको र गठबन्धन भित्र समेत सो क्षेत्र कांग्रेसले राख्ने तयारी भएबाट सो क्षेत्रमा उनीहरुबीचको चुनावी भिडन्त पक्का जस्तै देखिएको हो ।

एमालेमा उक्त क्षेत्रबाट अन्य चारजना नेताले संघीय साँसदमा उम्मेदवारीका लागि दाबी गरेकोमा पार्टी र आम क्षेत्रबासीका माझमा समेत साँवाको लोकप्रियता अझै बढी देखिएको भन्दै दाबेदारहरु हिरा बहादुर थापा, होम प्रसाद गौतम, चन्द्रकुमार शेर्मा र भोजकुमारी नेपालले साँवालाई समर्थन गरेर एकल नाम सिफारिस गर्नमा सहमत भएका जनाइएको छ । आफनो उम्मेदवारी सिफारिसको निर्णयपछि साँवाले सबै आकांक्षी र कमिटीलाई धन्यवाद दिएका छन ।

नेताद्धय साँवा र थेवेबीच यस अघि २०७४ को निर्वाचनमा पनि चुनावी प्रतिस्पर्धा भएको थियो । २०७० को निर्वाचनमा सो क्षेत्रमा कांग्रेसका केशवकुमार बुढाथोकीसंग पराजित भएका साँवाले तत्कालिन नेकपा माओवादी र राप्रपा समेतसंगको चुनावी तालमेलमा २०७४ मा भने थेवेसंग फराकिलो मतान्तरले बाजी मारेका थिए ।

Facebook Comments Box