दमक/ दमक ५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न गरेको छ । इकाइगत रुपमा विभिन्न ठाउँहरुमा साधारण सभा गर्दै आज दमकमा निर्णयहरु एकीकृत गरि माइन्युट प्रमाणिकरण गरेर साधारण सभाको समापन गरेको हो ।

गत भदौ १३ गतेदेखि एकाईगत साधारणसभा गर्दै आएको सो सहकारीले आज पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले इजरायल, अमेरिका र छिमेकी मुलुक भारतमा सहकारीका माध्यमबाट ठुलो आर्थिक क्रान्ति भएको उदाहरण प्रस्तुत गर्दै नेपालमा सहकारी अभियानमाथि लोकतन्त्र र गणतन्त्र नचाहने तत्वहरुले अहिले यो अभियानलाई बदनाम गराउने उद्धेश्य राखेर गतिबिधिहरु गरिरहेको आरोप लगाए ।
सहकारी भनेको सामुहिकताको अभ्यास हो , लोकतन्त्रमा सामुहिक अभ्यासहरु गरिन्छन पोखरेलले भने । सहकारी नचाहने सामुहिकताका विरोधी हुन लोकतान्त्रिक गणतन्त्रका विरोधी हुन उनले थपे ।
उनले तरलता अभावको विषयलाई लिएर बजारमा चलाइएका हल्ला सहकारी अभियान मास्ने नियतका साथ चलाइएको पनि आरोप लगाए ।
एक हप्ता अघिदेखि मात्रै तरलतामा सुधार आउँदै गरेको भन्दै उपाध्यक्ष पोखरेलले कोभिड १९ को विश्वब्यापी महामारी र रुस–युक्रेन बीचको युद्धका कारण आएको आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा पनि देखिएको तर्क गरे ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष न्यौपानेले सदस्यसँगको दिगो सम्बन्ध स्थापित गर्दै संस्था अगाडि बढिरहेको बताए । सो संस्थाले असहज परिस्थितिका बाबजुद ७३ करोड ८२ लाख कारोबारको गर्न सफल भएको बताए ।
साधारणसभाको अवसरमा संस्थाले जनप्रतिनिधि र पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान पत्र तथा नगदले पुरस्कृत गरेको छ । ज्येष्ठ सदस्य सम्मानतर्फ २ हजार रुपैयाँसहित ऋतुप्रसाद खनाल, पत्रकार सम्मानतर्फ नगद ५ हजार १ सय रुपैयाँसहित बिनोद सापकोटा र कर्मचारी सम्मानतर्फ नगद ५ हजार १ रुपैयाँसहित हेमराज काफ्लेलाई सम्मान तथा परस्कृत गरिएको हो ।
त्यसैगरी संस्थामा कारोबार गर्ने सदस्यहरुमध्ये स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित दमक ८ का वडाध्यक्ष धर्मप्रसाद खनालसहित एक दर्जनभन्दा बढी सदस्यलाई सम्मान गरिएको थियो । सो अवसरमा राष्टिय सहकारी महासंघकी सञ्चालक गोमा नेपाल, कञ्चजनजंघा बहुउद्धेश्यीय सहकारीका अध्यक्ष मणिकुमार भण्डारी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।