गौरादह/ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश एक सरकारका पूर्व मन्त्री हिक्मत कार्कीको निर्वाचन क्षेत्रमा पार्टी भित्र आकांक्षीहरुको संख्या उच्च देखिएको छ ।
कार्कीको निर्वाचन क्षेत्र झापा क्षेत्र नं ५ (क) प्रदेश क्षेत्र हो । प्रदेश क्षेत्रीय समितिको बैठकले नेता कार्कीसहित ७ जना आकांक्षीहरुको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।  साविकको तोपगाछी, हालको गौरादहका ८ वटा वडा र गौरीगञ्जका ४ वटा वडा कार्की निर्वाचित प्रदेश सभा क्षेत्र कमा पर्छन ।
कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेलको नाम सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ । प्रभावशाली मानिने नेता कार्कीको क्षेत्रबाट अधिक आकांक्षीहरु उम्मेदवारका लागि सिफारिस भएपछि एमाले भित्र बहस चुलिएको छ । कार्कीले सामाजिक सञ्जाल मार्फत भने पुनः दोश्रो पटक यो क्षेत्रबाट आफूलाई उम्मेदवार सिफारिस गरेकोमा धन्यवाद व्यक्त गरेका छन ।
कार्की यहाँबाट अघिल्लो पटक माओवादी र राप्रपा समेतको गठबन्धनबाट उम्मेदवारी दिएर नेपाल तरुण दलका पूर्व महासचिव समेत रहेका कांग्रेस नेता अनिलकृष्ण प्रसाइँलाई फराकिलो मतान्तरले हराउँदै प्रदेश सभामा पुगेका थिए ।
प्रदेश एकको प्रदेश सभामा एमालेका शेरधन राईको नेतृत्वमा बनेको बहुमतको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रिका रुपमा कार्कीले झण्डै आधा कार्यकाल अर्थात करिब अढाई बर्ष बिताए ।

Facebook Comments Box