दमक/ नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यमा संविधान सभा सदस्य विश्वदिप लिङदेनसहित चार जना झापाली नेताहरु चयन मनोनित भएका छन । झापाको क्षेत्र नं ५ मा आसन्न निर्वाचनका लागि कांग्रेसको तर्फबाट बलियो प्रतिस्पर्धीका रुपमा समेत हेरिएका लिङदेनसहित चार जना महासंघमा मनोनित भएका हुन । उनीसंगै टेकबहादुर लिम्बू (भरत सुब्बा ), बडेराम हेमरम (बडाराम ) र मोहन राजवंशी पनि महासंघमा मनोनित भएका छन ।
नेपाली काङ्ग्रेस केन्द्रीय समितिको साउन २ मा बसेको बैठकले नेपाल आदिवासी जनजाति सङ्घलाई नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा रुपान्तरण गर्ने निर्णय गरेको थियोे । सोही निर्णयानुसार रुपान्तरित महासङ्घको केन्द्रीय सदस्यमा पार्टी सभापति शेरबहादुर देउवाले आइतबार ४८ केन्द्रीय सदस्य मनोनीत गरेका काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा जनाइएको छ । समितिमा प्रदेश १ बाट राजकुमार राई (खोटाङ ), रामजी कङरेन (धनकुटा ), जयप्रसाद इङनाम (तेह्रथुम ), सधनाकुमारी मगर धनम (उदयपुर ), हिलारीबन्धु भुजेल (ओखलढुङ्गा ), लीलामान कङरेन (सङ्खुवासभा ), रणबहादुर तावा (पाँचथर ), चन्द्र खालिङ राई (सोलुखुम्बु ), रमेश इवाहाङ (धनकुटा ), धर्मराज राई (भोजपुर ), पासाङ शेर्पा (ताप्लेजुङ ) र जानुका लिम्बू शेर्पा (तेह्रथुम ) सदस्य छन् ।
समितिमा धनकुटा र तेह्रथुमबाट समान दुई जना र झापाबाट सबैभन्दा बढी चार जना नेताहरु परेका हुन् ।

 सम्भावित उम्मेदवार हुन लिङदेन
तत्कालिन विद्रोही नेकपा माओवादीको राजनीतिमा रहेका लिङदेन २०६४ को पहिलो संविधान सभा निर्वाचनमा नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता तथा हालका अध्यक्ष केपी शर्मा ओलीलाई हालको निर्वाचन क्षेत्र नं ५ मा हराएर संविधान सभामा प्रतिनिधित्व गरेका नेता हुन । ओलीलाई चुनावमा हराएर एकाएक राष्टिय राजनीतिमा चर्चा कमाएका लिङदेन पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन ।


निरन्तर राजनीतिमा सक्रिय उनी कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनमा जिल्ला सचिवमा प्रत्यासी समेत रहेका थिए । उनलाई पार्टीको केन्द्र तहबाट पार्टीद्धारा सञ्चालित अभियानहरुमा नेतृत्वकर्ताका रुपमा पार्टीले जिम्मेवारी दिदैं आएको छ ।
संसद विघटन विरुद्धको आन्दोलनमा उनले जिल्लामा रहेर पार्टीको घोषित कार्यक्रम अनुसार सञ्चालन भएका आन्दोलनका कार्यक्रमहरुमा सशक्त नेतृत्व गरिसकेका छन । उनलाई पार्टीले राष्टिय अभियानका सिलसिलामा धनकुटामा समेत केन्द्रिय प्रतिनिधिका रुपमा खटाएको थियो । लिङदेनलाई झापाली कांग्रेस भित्र एक जुझारु, प्रष्ट विचार राख्ने र सशक्त भुमिका निर्वाह गर्न सक्ने प्रभावशाली नेताका रुपमा लिइने गरेको छ ।
आसन्न मसिंर ४ को निर्वाचनलाई लक्षित गर्दै एमालेले दमकमा गत साउनको तेस्रो साता गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले घुमाउरो पारामा विगतमा आफुलाई हराउने उम्मेदवार कहाँ छन ? भनि कार्यकर्ताहरुलाई प्रश्न गरेका खबर मिडियामा आएको थियो । ओलीको यो प्रश्नको जवाफ उनले मिडिया मार्फत नै फर्काउँदै आफू जनता माझमा नै रहेको भन्दै ओलीलाई आगामी चुनावमा भिडनका लागि यो क्षेत्रमा आउन निम्तो दिएका थिए । लिङदेन आफनो क्षेत्रमा निरन्तर आफू क्षेत्रबासीका दुखसुखको साथी रहेको भन्दै यही क्षेत्रबासीको जन्ती मलामीका रुपमा आफू बसिरहेको बताउँछन । उनी भन्छन- म भ्रष्ट र माफियाहरुको महलमा रमाउनु परेको छैन जनताको झुपडीमा जहिले पनि भेटिएको छु र भेटिन्छु । कहिलेकांही चुनाव आउँदा मात्रै एक दुई दिन यहाँ ढाँट छलको राजनीति गरेर भोट खरिद गर्न आएको मान्छे म होइन । त्यस्तो मान्छे को हो ? यो क्षेत्रका जनताले राम्ररी चिनेका छन र मसिंर ४ मा देखिनेछ ।

Facebook Comments Box