आमा लक्षीमा र बुबा नारदमणी सापकोटाको माइलो छोराका रुपमा विसं २०१७ असार १७ गते पाँचथरको गोपेटारमा जन्मिएका प्रजापति सापकोटा दमक २ का निर्वाचित वडाध्यक्ष हुन् । २०२२ साल अर्थात उमेरले ५ बर्षको हुँदा देखिनै सापकोटाको बसोबास दमकमा शुरु भएको हो ।
सरस्वती निमाविबाट प्रारम्भिक शिक्षा शुरु गरेका सापकोटाले एसएलसी २०३८ सालमा उत्तिर्ण गरेका हुन् । विद्यार्थी उमेरदेखिनै वामपन्थी विद्यार्थी संगठन मार्फत जानी नजानी राजनीतिमा होमिएका सापाकोटा २०३६ सालदेखि सुझबुझका साथ राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि सक्रिय हुँदै आएका छन् ।
सापकोटा २०४२/०४३ सालतिर भएको नगर पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेद्वार बनेर वडा सदस्यमा निर्वाचित भएका थिए । त्यसलगत्तै लगभग २०४९ सालतिर यातायात क्षेत्रको व्यवसायमा हात हालेका उनी २०५४ सालतिर सापकोटा कोशी यातायात व्यवसायी संघको सदस्य हुँदै २०७३ साल सम्म पूर्वाञ्चल यातायात संघको उपाध्यक्ष भए । राजनीतिक रुपमा तत्कालिन नेकपा एमालेको २०५० देखि २०५२ सम्म १७ नं इलाका कमिटी सदस्य भएर पार्टी जिम्मेवारी सम्हालेका हुन् ।
त्यसबीचको २०५५ देखि २०६७ सम्म दमक २ को वडा सचिव , २०६२ देखी २०७३ सम्म वडाको सर्वदलीय संयन्त्र सदस्य २०७२ देखि पार्टीको क्षेत्रीय कमिटी सदस्यमा निर्वाचित भएका सापकोटा २०७३ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका हुन् । प्रस्तुत छ सापकोटासंग निष्कर्ष न्यूज साप्ताहिक र निष्कर्ष न्यूज डटकमका लागि गरिएको कुराकानीको निष्कर्ष ः
तपाइँ धेरै क्षेत्रको जिम्मेवारीमा रहनु भएको छ वडाध्यक्षको जिम्मेवारी कसरी पूरा गरिरहनु भएको छ ?
हो म निर्वाचित वडाध्यक्ष भएपनि यातायातका साथै अन्य सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय छु । कुनै पनि काम गर्ने भनेको सिस्टमले हो । अनुभव , ज्ञान र दक्षताले हो । म उ बेला पञ्चायतकालमै जनपक्षीय उम्मेद्वार बनेर जनताबाट निर्वाचित भईसकेको हुनाले जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहँदा मैंले त्यसबेलाको अनुभवलाई पनि उपयोग गरिरहेको छु । म यातायात क्षेत्रमा लामो समय विताएको मान्छे । मलाई सिंगो नगरपालिकाको बोर्डले नगरकै यातायात तथा ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी सुम्पियो । त्यहाँ पनि मेरो अनुभवले काम गरिरहेको छ ।
हामीले यातायात तथा ट्राफिक व्यवस्थापनका लागि आवश्यक कार्यविधिनै बनाएर काम शुरु गरिसकेका छौं । अहिले हाम्रो ध्यान समग्र वडामा गएको छ तर त्यसको अर्थ यातायात व्यवस्थापनलाई त्यत्तिकै छाडेको भने होइन । त्यो कार्यविधि बनेपछी त्यसका कार्यान्वयन गर्ने इकाईहरु छन् । विभिन्न समिति, उपसमिति, ट्राफिक प्रहरी, नगर प्रहरी , सुरक्षा निकाय सबै आआफ्नो ठाउँबाट सक्रिय रुपमा लागिरहनु भएकै छ ।
त्यसकारण धेरै वटा जिम्मेवारीमा हुँदा काम हुँदैन भन्ने मानसिकता त्याग्नु पर्यो । धेरैतिरको अनुभवचाहिं धेरै ठाउँमा उपयोग गर्न सकिन्छ भन्ने सकारात्मक सोच हामीले राख्नुपर्छ ।
तपाइँको वडाको विकासका लागि चाहिं २ बर्षको यो अवधिमा तपाइँको भुमिका के रह्यो ?
पहिलो कुरा त नयाँ संरचना अनुसार स्थानीय तह कार्यान्वयनमा सिकाईकै अभ्यास चलिरहेको छ । कतिपय परिस्थितीमा जनप्रतिनिधीहरु पनि सबैकुराले जान्ने र पोख्त हुन्छन भन्ने हुँदैन । तर हामी काममा इमान्दारिता कति देखाउँछौं भन्ने कुरा जनताले नजिकैबाट नियालिरहनु भएको छ ।
हाम्रो वडालाई आफैं बजेट तथा कार्यक्रम सञ्चालन गर्ने अख्तियारी आएको गतबर्ष देखि मात्रै हो । गत आर्थिक बर्ष भनौं २०७५/०७६ मा हाम्रो वडाले करीब १ करोड ३९ लाख रुपैयाँ बजेट पाएको थियो । हामीले बजेट तथा कार्यक्रमहरु बनाउँदा नगरपालिकाले दिएको सिलिङ भित्र रहेर बनाउने हो । हाम्रो वडा एक किसिमबाट भन्ने हो भने अलि ग्रामिण क्षेत्र धेरै भएको वडा पनि हो । यस वडामा हामीले पहिलो प्राथमिकता पूर्वाधारलाईनै दियौं । जस अन्तर्गत ९० लाख रुपैयाँ.बजेट विनियोजन गरेका थियौं । हामीले अघिल्लो बर्षमा छनौंट गरेका योजना तथा कार्यक्रमहरु शतप्रतिशत पूरा गरेका छौं । सडक ग्राभेल र पीच, खानेपानी र विद्युतलाई हामीले प्राथमिकता दिएका छौं । हाम्रो वडामा अझै पनि कच्ची बाटो छ । नगर र संघीय सरकारको बजेट र उपभोक्ताको समेत सहभागितामा हामीले एउटा सडक पीच गरेका छौं भने अन्य सडकहरुमा ग्राभेल तथा स्तरोन्नतीको काम गरेका छौं । माथिल्लो तहका सरकारबाछ पनि यहि वडामा हामीले केहि ठूला र महत्वपूर्ण योजनाहरु सञ्चालन गरेका छौं । जस्तै करीब एक करोड रुपैयाँको लागतमा वनवाटिका निर्माण, मदनआश्रिम मार्ग, हिमाली मार्ग, राष्ट्रपति चुरे कार्यक्रम, रवि बसपार्क निर्माण आदि ।
जनप्रतिनिधिहरु एक्लौटी ढंगबाट चलेको गुनासो पछि छ यस्तो अवस्थामा आफ्नो ५ बर्षे कार्यकालमा वडामा के के गर्ने सोच बनाउनु भएको छ ?
मैंले अघिनै भनें हाम्रो वडा विकासका दृष्टिकोणबाट पछि परेको वडाका रुपमा चिनिन्थ्यो । अब त्यो अवस्थाको अन्त्य हुन्छ । हामीले यहाँको आवश्यकताका आधारमा सबै राजनीतिक दल, सामाजिक संघ संस्थाहरु समेतका प्रतिनिधिहरुको सहभागितामा बजेट तथा कार्यक्रमहरु तय गरेका छौं ।
यहाँ के कुरालाई प्राथमिकता दिनुपर्ने भन्ने बिषयमा हामीले दलीय रुपमा विपक्षी साथीहरुसंग पनि छलफल गरेका छौं । त्यसकारण हाम्रो वडामा त्यस्तो एक्लौटी चलेको गुनासो छ जस्तो मलाई लाग्दैन । त्यस्तो गुनासो लिएर कोहि आउनु भएको पनि छैन । सडकको सवालमा हाम्रो वडामा अझै धेरै कच्ची सडक छ कम्तीमा सबै सडकहरु स्तरीय बनाइनेछ । लगभग एक सय घर धुरीमा अझै पनि विजुली पुगेको छैन ति घरमा विद्युत सेवा पुरयाइनेछ । आउदो साल सम्ममा सबैका घरमा सडक, विजुली र खानेपानीको सेवा पुरयाउने लक्ष्य छ । हाम्रो वडागत र नगरस्तरको बजेटबाट मात्रै यो सबै सम्भव छैन त्यसका लागि हामी संघीय र प्रदेश सरकारसम्म पुग्दैछौं ।
तपाइँको पार्टीको घोषणा पत्रमा लेखिएका कुरा र तपाइँहरुको अहिलको काम एकापसमा तालमेल मिलेको छैन भनिन्छ नि ? सुकुम्बासीहरुलाई घर जग्गा कहिले सम्ममा दिनुहुन्छ ?
पहिलो कुरा त म स्पष्ट पार्न चाहन्छु कि हामीले चुनावी घोषणा पत्रमा लेखेका कुरालाई पछ्याईनै रहेका छौं । त्यस्तो खास तालमेल नमिलेको कुरा होइन । खाली भुमी सम्बन्धमा केहि समस्याहरु ज्यूँका त्यूँ छन् । त्यो भनेको ऐलानी प्रति, खोला उकास र केहि व्यक्तिका जग्गामा पनि सुकुम्बासीहरुको बसोबास छ ।
त्यस्तो संख्या यतिनै छ भन्ने केहि यकिन छैन । किनकी एउटै परिवारले पनि २÷३ ठाउँमा जग्गा ओगटेर कंही न कहीं त होलानी भन्ने आशाामा बसेको पाइन्छ । धेरै परिवार खोला उकास क्षेत्रमा पनि बसोबास गर्छन । तिनीहरुको पहिचान गर्ने काम हुँदैछ । वास्तविक सुकुम्बासीको पहिचान गरेर जग्गाको बन्दोबस्ती गर्ने हो । पहिल्यैदेखि जग्गा भोग गरेपनि धनीपूर्जा नपाएको समस्या जटिल छ ।
बर्षौदेखि जग्गाको स्वामित्व पाउन नसकेका सर्वसाधारणलाई जोतभोगका आधारमा जग्गाको स्वामित्व अर्थात जग्गा धनीपूर्जा दिने व्यवस्था सरकारले माथिल्लो तहबाटै नीतिगत रुपमै गर्नुपर्छ ।
मालपोत र नापी कार्यालयमा सेवाग्राहीले पाउनुपर्ने सेवा चुस्त, पारदर्शी र प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै सरकारले अहिले लिदैं आएको १० लाख भन्दा बढीको घर जग्गा किनबेचमा लगाइने लाभकरको लागि मुल्यको सिमा अंक बढाएर ५० लाख सम्म कायम गर्नुुपर्छ र जग्गाको मुल्याङकन निर्धारण गर्ने अधिकार वडा समितिलाई नै दिँदा अझ सहज हुनेछ । । त्यसो गर्न सकिए मात्रै जग्गाको किनबेचका सिलसिलामा हुने राजश्व छली नियन्त्रण हुनुका साथै व्यवहारिक हुन सक्छ ।