चन्द्रा खडका भटटराई झापाको राजनीतिक तथा वित्तिय क्षेत्रमा परिचित नेतृ हुन । सहकारीका क्षेत्रमा निरन्तर क्रियाशील उनी राजनीतिक रुपमा नेपाली कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य पनि हुन । झापाको दमकलाई मुख्य थलो बनाएर राजनीतिक, सामाजिक तथा वित्तिय क्षेत्रमा उनको सक्रियताको तीन दशक बितिसकेको छ ।
आसन्न राष्टिय निर्वाचनमा सम्भावित उम्मेदवारहरुको चर्चा परिचर्चा शुरु भएसंगै नेतृ खडकालाई पनि यस झापा क्षेत्र नं ५ मा एक जना सम्भावित महिला उम्मेदवारका रुपमा हेरिएको छ । झापा क्षेत्र नं ५ अन्तर्गको प्रदेश सभा निर्वाचन क्षेत्र खमा आफनो उम्मेदवारीका लागि बलियो दाबी पेश गरेकी खडकाले उम्मेदवारीका लागि पार्टी भित्र आन्तरिक लविगं पनि गरिरहेकी छिन ।
महिला कार्यकर्ताहरुको ठुलो हिस्साले आफुलाई उम्मेदवारका रुपमा यो क्षेत्रमा देख्न चाहेको बताउँदै खडकाले निष्कर्ष न्यूजसंगको कुराकानीमा भनेकी छिन – जिवनको महत्वपूर्ण र उर्जाशील समय पार्टी र समाजका लागि खर्चिएकी छु हरेक चुनावमा मैले अरु साथीहरुलाई मैदान छोडिदिएकी छु यसपटक मलाई सबैको साथ सहयोग रहनेछ भन्नेमा विश्वस्त छु । महिलालाई पनि योग्यता, क्षमता र पदीय जिम्मेवारी अनुसार पार्टीले उम्मेदवारी चयनमा अवसर दिनुपर्छ भन्ने उनको धारणा छ ।
नेतृ खडकाको संक्षिप्त परिचय
२०२६ साल मसिंर १० गते तेह्रथुमको म्याङलुङमा बुबा भक्त बहादुर खड्का र आमा कृष्णमायाको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका चन्द्रा खड्काको नाम सहकारी र राजनीतिक क्षेत्रमा परिचित छ । दमक ९ निवासी खडका उद्यम विकास बचत ऋण सहकारी संस्थामा लगातार तीन कार्यकाल सम्म अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी नेतृ हुन । उनकै नेतृत्वमा स्थापित सो संस्था अहिले परिचित र स्थापित वित्तिय संस्थाका रुपमा रहेको छ ।
२०७३ साल पुषमा काठमाडौंमा सम्पन्न नेफ्स्कुनमा आवद्ध सदस्यहरुको भेलाबाट केन्द्रिय बचत तथा ऋण सहकारी संघ ( नेफ्स्कुन) की केन्द्रिय सदस्यमा निर्वाचित खडका सहकारी सम्बद्ध जिल्ला बचत संघकी उपाध्यक्ष पनि हुन् ।
सहकारीमा क्रियाशील हुनु अघिदेखिनै उनी राजनीतिक रुपमा समेत नेपाली कांग्रेस र कांग्रेस सम्बद्ध नेपाल, महिला संघको विभिन्न तहमा नेतृत्व सम्हालिसकेकी खड्काले प्रारम्भिक शिक्षा तेह्रथुमको नागेश्वरी प्राविबाट शुरु गरेकी हुन् ।
झापाको तत्कालिन बनियानी गाविसमा समेत आफ्नो परिचय छोडेकी उनले २०४५ सालमा म्याङलुङबाट २०४५ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् । एसएलसीपछि उनले उच्च शिक्षाका लागि धनकुटा बहुमुखी बहुमुखी क्याम्पसबाट बीएड गरेकी हुन् . बनियानीमा उनको आफ्नै सकृयतामा २०४७ तिर वण्डरलैण्ड बोर्डिङ स्कूल स्थापना भयो । उनकै सकृयतामा त्यहाँ नारी सीप विकास केन्द्रको भवन निर्माण समेत भएको थियो । उनी बहुदलीय प्रजातन्त्र स्थापनापछि भएको पहिलो स्थानीय निकायको निर्वाचनमा बनियानी गाविस वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेका टंक घिमिरेसंग एक भोट अन्तरले पराजित भएर पनि राजनीतिक क्षेत्रमा अझ बढी क्रियाशील रहिन ।
परिणामस्वरुप उनले झापाको दमकमा रहेर आफनो राजनीतिमा अझै उचाई बढाएकी छिन । नेपाल महिला संघको क्षेत्रीय सभापति र पार्टीको ११ औं, १२ औं र १४ औं महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर बलियो उपस्थिती जनाइरहेकी उनी नेपाली कांग्रेसको एक नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएर एक नम्बर प्रदेशकै नेतृका रुपमा पार्टी जिम्मेवारीमा रहेकी छिन । पार्टीको सहकारी विभाग केन्द्रीय सदस्य र एक नम्बर प्रदेश संयोजकको समेत जिम्मेवारीमा छिन । उनी दमकस्थित निम्स नेशनल हस्पिटलको सञ्चालक तथा दमक ९ स्थित अनाथ आश्रमकी लेखा समिति संयोजकको समेत जिम्मेवारीमा रहेर सामाजिक क्षेत्रमा क्रियाशील छिन ।
