दमक/ अघिल्लो राष्टिय निर्वाचनमा चुनावी तालमेल गरेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिगंदेनबीच एक अर्काको निर्वाचन क्षेत्रमा आआफनो प्रभाव देखाउने होडबाजी शुरु भएको छ । यसलाई दुई शीर्ष नेताबीचको टकरावका रुपमा पनि लिइएको छ ।

आसन्न निर्वाचनमा यि दुई दलबीच हुन सक्ने तालमेलका बिषयलाई लिएर सम्बन्धित नेताका क्षेत्रबासीहरुबीच विभिन्न अडकलबाजीहरु चलिरहेको बेला दुवै नेताहरु एक अर्काको निर्वाचन क्षेत्रमा प्रभाव देखाउने प्रतिस्पर्धा जस्तै देखिएको छ । बिहिबार काठमाडौंबाट झापा आएका एमाले अध्यक्ष ओली यस अघि २०७४ मा राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित भएको क्षेत्र झापा ३ मा केन्द्रीत भए । उनले सो क्षेत्र अन्तर्गतको कचनकवल गाउँपालिकाको बनियानीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै एमालेलाई कसैसंगको गठबन्धन नचाहिने भन्दै एमाले एक्लै चुनाव लडन तयार रहेको भएको बताए । गठबन्धनमा ८ / १० वटा दल पुगेको हुनसक्ने बताउँदै उनले अरू जुटाउँदा पनि एमालेलाई केही फरक नपर्ने भन्दै चुनौती दिए । ओलीले सम्बोधनका क्रममा उल्लेख गरेको अरुलाई भन्ने शब्दले राप्रपालाई संकेत गरेको अनुमान राजनीतिक वृत्तमा भइरहेको छ ।

उनले भने – आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक्ला एक्लै लड्न नसक्ने भएर गठबन्धन गरेर एमालेसँग लड्न खोज्दैछन्, अपवित्र साँठगाँठको नाम हो गठबन्धन ।
उनले भने – जस्तो सुकै गठबन्धन बनोस् त्यसलाई एमालेले पराजित गर्नेछ । यो सम्बोधनले एमाले राप्रपाबीच टकरावको संकेत देखिएको हो । अघिल्लो पटक एमाले र माओवादी केन्द्रसहितको समर्थनमा निर्वाचन जितेका राप्रपा अध्यक्ष लिङ्देनको क्षेत्रमा ओलीले गरेको यो उदघोषले अब एमाले एक्लै चुनाव लडन सक्ने संकेत गरेको छ । त्यति मात्रै होइन एमाले केन्द्रीय सदस्य समेत रहेका बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाइँले सो कार्यक्रममै झापा ३ का जनताले सूर्य चिन्हमा भोट हाल्न पाउनु पर्ने बताएबाट सो क्षेत्रमा एमालेका प्रसाइँ चुनावका लागि उम्मेदवारका रुपमा उभिएको संकेत गरेको छ ।

एमाले अध्यक्ष ओली कचनकवलको सो कार्यक्रमपछि आफनै निर्वाचन क्षेत्रमा पर्ने दमक आएका छन । यसअघि सम्म यो क्षेत्रमा आउँदा उनको बसाई प्राय पार्टी नेता समेत रहेका तत्कालिन दमक नगर प्रमुख रोमनाथ ओलीको निवासमा हुँदै आएकोमा यसपटकदेखि निर्वाचनलाई लक्षित गरेर ओलीको छुटटै क्वाटर (आवास) तय भइसकेकाले सोही आवासमा बसेका छन । उनी तीन दिनदेखि पार्टीको आन्तरिक भेटघाट र कार्यक्रममा सहभागी भएर आज काठमाडौं फर्किने एमाले स्रोतले जनाएको छ ।

ओली यो क्षेत्रबाट काठमाडौं फर्किने वित्तिकै ओलीको निर्वाचन क्षेत्रलाई लक्षित गर्दै राप्रपाको एक नम्बर प्रदेशस्तरीय विस्तारित बैठक तथा कार्यकर्ता भेला दमकमा नै आयोजना गरेको छ । सो भेलामा बिस्तारित बैठकसंगै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत आमन्त्रण गरिएको छ ।

सो विस्तारित बैठक तथा भेलालाई राप्रपा अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएको छ । राप्रपाका अनुसार दमकको पशुपति मन्दिरस्थित पशुपति सेवा सदनमा हुने सो बैठकमा झापाबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरु, प्रदेश १ सदस्यहरु, झापाका जिल्ला पदाधिकारी, सबै क्षेत्रीय अध्यक्ष प्रदेश अध्यक्ष र गाउँ नगर अध्यक्ष र बर्गिय सङ्गठनका जिल्ला अध्यक्षहरुलाई सहभागिताका लागि निर्देशन अनुसार अनुरोध गरिएको छ ।

रोचक पक्ष
झापाको निर्वाचन क्षेत्र ३ र ५ को निर्वाचनलाई स्थानीयदेखि राष्टिय राजनीति सम्म रोचक रुपमा लिने गरिन्छ । अघिल्लो २०७४ को निर्वाचनमा राप्रपा र एमालेबीच यि दुई क्षेत्रसंगै अन्य कतिपय क्षेत्रमा समेत चुनावी तालमेल भएको थियो ।
तत्कालिन राप्रपा महामन्त्री रहेका लिङ्देन र एमाले अध्यक्ष ओलीको जित सुनिश्चितताका लागि त्यो चुनावी तालमेल भएको थियो । चुनावी परिणामपछि लिङ्देनको सम्बोधन कांग्रेस एमालेका शीर्ष नेताहरु विरुद्ध लक्षित हुँदै आएको छ । दुवै पार्टीले यसबीचमा आआफनो महाधिवेशन सम्पन्न गरेर शीर्ष नेताको हैसियतसहितमा चुनावी मैदानमा उत्रिँदैछन ।
ओलीको क्षेत्र झापा ५ को मुख्य नगर दमकमा गत स्थानीय निर्वाचनमा राप्रपा र एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा कांग्रेस र माओवादी समेतको समर्थनमा राप्रपाले नगर प्रमुख जितेको थियो भने लिंगदेनको क्षेत्रमा पर्ने कचनकवलमा कांग्रेस एमालेबीच चुनावी तालमेल गरेर राप्रपाका उम्मेदवारलाई पराजित गरेका थिए ।

Facebook Comments Box