दमक/ दमक १ का भुमीहिन दलित, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आजदेखि जग्गा धनीपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानीय नवदुर्गा मन्दिरमा आयोजित कार्यक्रमका बीच दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले वडा भित्र रहेका भुमीहिनहरुलाई धनीपुर्जाको निस्सा वितरण प्रारम्भ गरेका हुन ।
दमक वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख थापाले आफुहरु निर्वाचित भएर आएदेखिनै पहिलो प्रथमिकतामा राखेर भुमीहिनलाई धनीपुर्जा उपलब्ध गराउने काममा लागेको बताए ।
निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतीमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केहीदिनमै धनीपुर्जा समेत उपलब्ध गराईने उनले बताए । नगर उपप्रमुख भट्टराईले भुमीहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताए । प्राबिधिक कामले केही ढिलाई भए पनि आगामी संघीय निर्वाचन अघिनै धनीपुर्जा उपलब्ध गराउने गरी आफुहरुले काम गरिरहेको उनले बताए । कार्यक्रममा र राष्ट्रिय भुमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनीपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका दमक नगर सभापती प्रकाश प्रसाईंले आयोगको काम अघि बढाउन राजनीतिक दलहरुको तर्फबाट सक्दो सहयोग गर्ने बताए । दमकबाट भुमीहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी नगरपालिकाले काम गर्नु पर्ने उनको भनाई छ । वडा भित्र हाल सम्म दर्ता रहेका ८४७ भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडाअध्यक्ष न्यौपानेले बताए ।
