दमक/ नेपाली कांग्रेस भित्र सम्मानजनक स्थान नपाएको भन्दै असन्तुष्ट रहेको डा. शेखर कोइराला समुहले पार्टी नेतृत्व विरुद्ध आन्दोलननै शुरु गरेको छ ।
सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु मार्फत नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएको शेखर समुहले आज पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध राष्टिय सभा गृहमा खबरदारी सभा  नै गर्न लागेको सो समुहका नेताहरुले जनाएका छन ।


आज बिहान ८ बजे सो समुहले पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुख एवं अध्यक्ष , उपाध्यक्षहरुको भेलानै आयोजना गरेको छ । कोइराला समुहले अनुपम फुडलैण्डमा आयोजना गरेको सो भेलालाई चियापान कार्यक्रमको नाम दिइएको छ ।

भेलालाई डा. कोइरालाले सम्बोधन गर्ने कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका युवा नेता मेदनी प्रसाद सिटौलाले जानकारी दिए ।
झापा क्षेत्र नं ५ बाट महाधिवेशन प्रतिनिधि चुनिएर पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचन लडेका युवा नेता सिटौलाले पार्टी सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा प्रकट भएको कार्यकर्ताहरुको भावना सम्बोधन गर्ने मामिलामा इमान्दार नदेखिएको कारण यस किसिमका गतिबिधि बढाउनु परेको जिकिर गरेका छन ।
निष्कर्ष न्यूजसंगको कुराकानीमा नेता सिटौलाले भने केन्द्रीय समिति विस्तारमा पनि सभापति देउवाले एक्लौटी निर्णय गर्नुभयो । १८५५ महाधिवेशन प्रतिनिधिहरु मार्फत कांग्रेसका बहुसंख्यक कार्यकर्ताहरुले प्रकट गरेको मतको अपमान गर्ने काम भएको छ , केन्द्रीय समितिमा ८ जना मनोनित गर्ने भनि हामीसंग नाम मागेपनि १० जना मनोनित गर्दा समेत नाम कटौती भएको छ यो सरासर अन्याय हो ।
तल्लो तहदेखिका कार्यकर्ताहरुको भावना विपरित सभापति देउवाले पार्टी सञ्चालन गरेको कारण कार्यकर्ताहरुमा बढेको तिब्र असन्तुष्टिले पार्टीको समानान्तर समिति गठन सम्म जानुपर्ने अवस्था आएको सिटौलाको तर्क छ । पछिल्लो समय संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको निर्वाचनमा गठबन्धन दलहरुबीच उम्मेदवारको नाम टुंगो लगाउने कसरत भइँरहदा शेखर समुहले सभापति देउवामाथि दबाबमुलक कार्यक्रमहरु अघि सारेको बताइएको छ । बढी भन्दा बढी सिट संख्याका लागि महाधिवेशनमा सभापतिका प्रत्यासी डा. कोइरालाले पाएको मत प्रतिशतका आधारमा सिटको प्रतिशत पाउनु पर्ने शेखर समुहले तर्क पेश गर्ने तयारी छ ।

Facebook Comments Box