दमक/ पूर्वपश्चिम राजमार्गलाई फराकिलो ( चार लेन) बनाउँदा यहाँँ पर्न सक्ने प्रभावका बिषयमा केन्द्रित भएर झापाको दमक नगरपालिकामा आज सार्वजनिक सुनुवाई सञ्चालन गरिएको छ ।
काँकरभिटटा लौकही सडक स्तरोन्नती आयोजनाले वातावरणीय प्रभाव मुल्याकंन प्रतिवेदन निर्माणमा सहजताका लागि सो कार्यक्रम सञ्चालन गरिएको आयोजनाका कन्सल्टेन्ट रविन ढकालले जानकारी दिए ।

दमक नगरपालिकाको सभाकक्षमा नगर प्रमुख राम थापाको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा वातावरण विज्ञ राजन श्रेष्ठ र इञ्जिनियर सौरभ राणाले आयोजनाका बिबिध पक्षहरुका बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
सरोकारवाला नागरिकहरुसंगको अन्तरक्रियामा सो सडक स्तरोन्नती आयोजना अन्तर्गत हुने मुख्य मुख्य कामहरु, सो आयोजना कार्यान्वयनमा आएपछि र शुरु हुनु अघि सडक आसपास क्षेत्रका सर्वसाधारणको आर्थिक, सामाजिक तथा साँस्कृतिकका साथै पर्यावरणमा पर्न सक्ने प्रभावका बिषयमा सहभागीहरुले जिज्ञासा समेत राखेका थिए ।
सो आयोजना अन्तर्गत काँकरभिटटादेखि लौकही सम्मको १२० किलोमिटर खण्डको स्तरोन्नती हुनेछ । सडकको मध्यभागबाट दुवै तर्फ २५ २५ मिटर सडक क्षेत्र भएको र सोही क्षेत्रको स्तरोन्नती गरिने भएको हुँदा थप कुनै जग्गा अधिग्रहण नगरिने कार्यक्रममा जानकारी गराइएको थियो । सो आयोजनाले दमक नगरपालिकाको पूर्व पश्चिम कूल साढे सात किलोमिटर दुरी ओगटने भएकाले सो क्षेत्रभित्र राजमार्गको कूल ८२ फिट चौडाइ पर्नेछ ।
सो अन्तरक्रियात्मक सुनुवाईमा दमक नगरस्थित जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, राजनीतिक दल, उद्योगी व्यवसायी प्रतिनिधि एवं सडक प्रभावित क्षेत्रका सर्वसाधारणहरुको सहभागिता थियो ।

