दमक बहुमुखी क्याम्पस प्रमुखमा बुढाथोकी

Author Nishkarsha News
२०७६ श्रावण ५, आईतवार १८:०९

दमक,५ साउन ।दमक  बहुमुखी क्याम्पसको प्रमुखमा डाक्टर नेत्रबहादुर बुढाथोकी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको आज आइतबार बिहान बसेको बैठकले डाक्टर बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको क्याम्पस सञ्चालक समिति सदस्य रेगिना भट्टराई प्रसाईंले जानकारी दिईन् ।

यस अघि तत्कालीन क्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराईले गत जेठ ५ गते राजिनामा दिएपछि पूर्वकै प्रतिष्ठित मानिएको दमक बहुमुखी क्याम्पस लामो समय प्रमुखबिहिन रहेको थियो । भट्टराईले राजिनामा दिएको दुई महिना पछि बुढाथोकीलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय भएको हो ।
सामुदायिक क्याम्पसका रुपमा यस क्याम्पस प्रदेशकै उत्कृष्ठसहित पूरानो मानिन्छ । मुलुककै अब्बल शैक्षिक संस्थाको नेतृत्व चयनमा सक्षम व्यक्ति ल्याउन आवश्यक परामर्श लम्बिएका कारण प्रमुख चयन गर्न केहि ढिलाई भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवी दाहालले बताए ।
२०५५ साल कात्तिक ११ गते दमक क्याम्पसको प्राध्यापकमा नियुक्त भएका डा.बुढाथोकीले यस अघि दमक क्याम्पसको बिभागिय प्रमुख, अनुसन्धान बिभागको संयोजक, डिग्री कार्यक्रमको संयोजक हुँदै सहायक क्याम्पस प्रमुख सम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
प्रजातन्त्रबादी प्राध्यापक संघ, दमक बहुमुखी क्याम्पसका सभापति समेत रहेका प्रमुख बुढाथोकीले सञ्चालक समितिले विश्वास गरेर आफुलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्