दमक/  स्थानीय चुनावको परिणाम बाहिरिए लगत्तै आन्तरिक कारणबाट नेतृत्वबिहिन बनेको नेपाली कांग्रेस गौरादह नगर समितिको समस्या समाधान भएको छ । पार्टीका तत्कालिन नगर सभापति सेढाइँ विरुद्ध गत असार ४ गतेको नगर समिति विस्तारित बैठकमा अविश्वास प्रस्ताव समेत सर्वसम्मतबाट पारित भएको थियो ।
पार्टीको १४ औं महाधिवेशन अन्तर्गत भएको गौरादह नगर अधिवेशनबाट निर्वाचित सभापति सेढाइँलाई गत स्थानीय चुनावमा पार्टीलाई असहयोग गरेको ठहर गर्दै तल्लो तहबाटनै कारवाहीको सिफारिस भएको थियो ।

सभापतिबिहिन बनेको कांग्रेस गौरादह नगर समितिको कार्यबहाक सभापतिमा गोपाल कोइरालालाई चयन गर्दै समस्या समाधानको बाटो खोजिएको हो ।
पार्टी नेतृत्वबिहिन रहँदा लामो समयदेखि पार्टी सञ्चालनमा भएको समस्या र घोषणा भएको प्रदेश र संघीय निर्वाचन क्षेत्रको चुनावलाई समेत मध्यनजर गर्दै बिहिबारदेखि कार्यवहाक नगर सभापतिको जिम्मेवारी कोइरालालाई दिएर समस्याको निकास खोजिएको पार्टी नेताहरुले जनाएका छन ।

कोइराला पार्टी निर्वाचनमा नगर सभापतिका प्रत्यासी थिए । उनी दुई मतले सेढाइँसंग पराजित भएपछि पार्टीको वरिष्ठ नगर सदस्यका रुपमा रहेका थिए । यससंगै नगर सभापतिको अभाव खडकिएपछि स्थानीय कार्यकर्ताहरुले नगर सभापति चयनमा पार्टीको उपल्लो तहका नेताहरुको ध्यानाकर्षण गराउँदै आएपनि यसतर्फ गम्भिर नबनेपछि नगर समितिले आफैं निर्वाचनको तयारी थालेको थियो । जसअनुसार आज बिहिबार नगर सभापतिका लागि निर्वाचनको तयारी भएपछि जिल्ला नेतृत्वले सो बिषयमा चासो देखाउँदै निर्वाचनको कार्यक्रम स्थगन गरि पार्टी विधानमा उल्लेख भए अनुसार नगर समिति भित्रैबाट कार्यबहाक सभापति चयन गर्न निर्देशन गरेको थियो ।

पार्टी जिल्ला सभापति देउमान थेवेद्धारा पार्टीको गौरादह नगर समितिलाई लेखेको पत्रमा पार्टी विधानको धारा ४५ अनुसार रिक्त रहेको पदमा जुन प्रकृयाबाट नियुक्त भएको सोही प्रकृयाबाट मात्रै नियुक्त गर्नुपर्ने उल्लेख रहेको स्मरणसहित नगर समिति भित्रैबाट कार्यवहाक सभापति चयन गर्न निर्देशन गरिएको थियो ।
सोही निर्देशन अनुसार पार्टीले अर्को निर्वाचन नहुञ्जेल सम्मका लागि पार्टी नगर समितिको विस्तारित बैठकले कार्यवहाक सभापतिमा कोइरालालाई सर्वसम्मत चयन गरेको पार्टीको झापा क्षेत्र नं ५ का सभापति जिवन राईले जानकारी दिए । कार्यवहाक सभापतिको जिम्मेवारी पाएका नेता कोइराला गौरादह २ का निर्वाचित वडाध्यक्ष पनि हुन ।

 

Facebook Comments Box