दमक/ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि आवश्यक तयारी शुरु गरेको छ । एमाले केन्द्रिय सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्जमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार बसेको सचिवालयको बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसङ्गठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
एमालेले आउँदो चुनावको घोषणा पत्र मस्यौदा समिति पनि गठन गरेको छ । समितिमा पार्टी अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल छन ।
पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले विभिन्न १५ विभागका सचिवहरू पनि मनोनयन गरेको जनाएका छन । उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, सहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभाग गठन गरेको गुरुङले जानकारी दिए ।
उनले बैठकले स्थानीय तह विकास विभागको निर्देशिका, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रस्तावित आर्थिक वर्ष २०७९र०८० को वार्षिक बजेट पनि पारित गरेको बताए । विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरूको सन्दर्भमा आवश्यकताअनुसार तल्लो कमिटीहरूले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने जानकारी दिए ।
आजको बैठकले केही केन्द्रीय सदस्यको जम्मेवारी हेरफेर गरेको छ । मधेस प्रदेशको सहइन्चार्जमा रामदल मण्डललाई तोकिएको छ भने महोत्तरीको इन्चार्जमा सरोज यादव र प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सहइन्चार्ज तोकिएको छ । त्यस्तै भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्कीको इन्चार्जमा कृष्ण थापालाई तोकिएको छ । प्रचार विभाग प्रमुख गुरुङका अनुसार बैठकले नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको छ । यस्तै भदौको ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि भएको छ ।

 

Facebook Comments Box