दमक / विदेशबाट फर्किँदा मृगौला सम्बन्धिको समस्याबाट पीडित भएका झापा दमक ७ का एक युवकले उपचारका लागि आर्थिक अभाव झेल्नु परेको छ । दमक ७ का २६ वर्षीय रामकुमार विकले दुवै मृगौला खराब भएर पनि आर्थिक अभावमा उपचार पाउन नसकेको भन्दै सहयोगको याचना गरेका छन् ।
आइतबार बिकका आफन्तले पत्रकार सम्मेलन गरेर विकको उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन् । ५ वर्ष खाडी मुलुक बहराइन बसेर आएका उनी स्वादेश आउँदा नै बिरामी परिसकेका उनका काका भीमबहादुर विकले बताए ।
‘विदेशबाट कमाएर ल्याएको सबै उपचारमै सकियो । अहिले बिरामीको अवस्था झन झन गाह्रो भयो । आज पनि राति नै अस्पताल लैजानु पर्याे काका भीमबहादुरको दुखेसो छ ।
आफन्तबाट मृगौला दान गर्न सकेको अवस्थामा समेत उपचारका लागि १५र २० लाख रूपैयाँ लाग्ने चिकित्सकहरुले बताएको भन्दै विकका आफन्तले सहयोगको याचनासहित पत्रकार सम्मेलन गरेका हुन् ।
९ वर्ष र ४ वर्षका नाबालक छोरीहरु र श्रीमतीसहित दमक ७ को संरक्षण टोलमा बस्दै आएका विकले २ महिनादेखि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डायलसिस गराउँदै आएका छन् । रामकुमारले बहराइनबाट कमाएर ल्याएको २ लाख बढी रकम उपचारकै क्रममा सकिएको आफन्तले जानकारी दिएका छन् ।
विकको उपचार सहयोगको लागि ७ नम्बर वडा कार्यालयबाट २ लाख बराबरको उपचार सुविधाका लागि निःशुल्क डायलसिस सिफारिस गरिएको तर सरकारी सुविधाका लागि पालो पर्खनुपर्ने दलित महिला सदस्य तारा रणपहेँलीको भनाइ छ ।
उनले भनिन् –‘हामीले सिफासिर त गरेका छौं । तर सरकारी सुविधाबाट डायलसिस गराउन दुई महिना पालो पर्खनुपर्ने समस्या छ । बिरामीको आर्थिक र स्वास्थ्य अवस्था दुवै नाजुक छ ।
टोल छिमेकबाट २०र२२ हजार आर्थिक सहयोग जुटाएर शनिबार राति आकस्मिक रूपमा अस्पताल लैजानुपरेको रणपहेँलीले बताइन् ।
विकका आफन्तले उनकी श्रीमती भावना विश्वकर्माको नाममा सिटिजन बैंक दमक शाखामा रहेको बैंक खाता नम्बर 0560100000778041 मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गरेका हुन् । उनलाई ९८२०५२४१७८ सम्पर्क गर्न सकिने पत्रकार सम्मेलनमा जनाइएको छ ।
