दमक/ झापाका दुई जना पत्रकारहरुलाई पत्रकार महासंघ झापा शाखाले निलम्बनको सिफारिस गरेको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार (आज) महासंघको विर्तामोडस्थित कार्यालयमा बसेको बैठकले फरक फरक अभियोग लागेका पत्रकारद्धय भुमिराज पराजुली र उत्तम रिजाललाई महासंघको सदस्यता निलम्बनका लागि महासंघको प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
दमकको साविक वडा नं १० ( हाल वडा नं ५ ) निवासी पराजुली उपर वैदेशिक रोजगार विभागमा मिति २०७९/०३/२० मा दर्ता भएको ठगी सम्बन्धी मुद्दाका सन्दर्भमा विभागले जिल्ला प्रहरी कार्यालय झापालाई कसुरदार पक्राउ गरी उपस्थित गराई दिने भनी गरेको पत्राचार, प्रहरीबाट जारी भएको पक्राउ पुर्जी, विभिन्न सञ्चारमाध्यममा पत्रकार पराजुलीले ठगी गरेको सम्बन्धमा प्रकाशित प्रशारित समाचार र पत्रकार पराजुली आवद्ध हिमशिखर टेलिभिजनले समाचार संयोजक पदसहित संस्थाबाट बर्खास्त गरेको विषयमा महासंघको गम्भीर ध्यानाकर्षण भएको बैठकपछि जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

फौजदारी सम्बन्धी मुद्दाको कसुरदारको रुपमा रहेका पत्रकार पराजुली माथि लागेको कसुर उपर अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सो मुद्दामा सफाई नपाएसम्मका लागि पत्रकार पराजुलीलाई महासंघको सदस्यताबाट निलम्बन गर्न पत्रकार महासंघ प्रदेश–१ समिति समक्ष सिफारिस गर्ने झापा शाखाले सर्वसम्मत निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी महासंघ झापा शाखाका सदस्य उत्तम रिजाल उपर इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा मिति २०७९ वैशाख १४ मा दर्ता भएको संगठित अपराध तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरका सन्दर्भमा फौजदारी सम्बन्धी मुद्दाको कसुरदारको रुपमा रहेका पत्रकार रिजाल माथि लागेको कसुर उपर अनुसन्धानमा सहयोग गर्ने उद्देश्यले सो मुद्दा फैसला भई सफाई नपाएसम्मका लागि पत्रकार रिजाललाई महासंघको सदस्यताबाट निलम्बन गर्न पत्रकार महासंघ प्रदेश–१ समिति समक्ष सिफारिस गर्ने सर्वसम्मत निर्णय भएको जनाइएको छ ।
वाग्ले र चौलागाइँको राजीनामा स्वीकृत
सोही बैठकमा महासंघ झापा शाखाको कार्यसमिति सदस्य अनिल वाग्ले स्थानीय तह निर्वाचनबाट बुद्धशान्ति–१ को वडाध्यक्षमा निर्वाचित भएको र महासंघको आह्वान बमोजिम पत्रकारिता पेशालाई मार्यादित र निष्पक्ष बनाउन वाग्लेले २०७९ जेठ ११ गते पेश गरेको राजीनामा स्वीकृत गर्ने सर्वसम्मत निर्णय भएको छ ।
बैठकले पत्रकारिता पेशा र महासंघ कार्यसमितिमा रहेर वाग्लेले पुर्याएको योग्दानप्रति धन्यवाद ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना समेत गरेको छ । त्यसैगरी कार्यसमिति सदस्य मनिषा चम्लागाई हाल उच्च शिक्षा अध्ययनका लागि जापान गएको र २०७९ साउन २० गते चम्लागाईले कार्यसमिति पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ ।
कार्यालय भवन स्तरोन्नति गरिने
महासंघको बिर्तामोडस्थित कार्यालय रहेको भवनमा सभाकक्ष तथा प्रशिक्षण कक्षको अभाव रहेकाले तेस्रो तलामा तला थप गरी ट्रस्ट लगाएर भवनको स्तरोन्नति गरी सभाकक्ष तथा प्रशिक्षण कक्ष निर्माण उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा यसअघि गठित निर्माण समितिलाई नै जिम्मेवारी दिने निर्णय भएको छ । साथै निर्माण समितिमा रिक्त दुई सदस्यमा कार्यसमिति सदस्य होमप्रकाश अधिकारी र सुनिरा मैनालीलाई मनोनयन गरिएको छ ।
त्यसैगरी महासंघ कार्यसमितिका सचिव डिकेश लामाको संयोजकत्वमा गठित सदस्यता छानविन तथा सिफारिस समितिले महासंघको सदस्यतामा लागि आवेदन दिएका सञ्चारकर्मीहरुको फायल छानविनको प्रक्रिया पूरा गरी कार्यसमितिमा सिफारिस गरेका सञ्चारकर्मीको नामावली बारे पनि बैठकमा छलफल भएको छ । बैठकले सदस्यता सिफारिसबारे अन्तिम निर्णय गर्न महासंघका पदाधिकारीलाई जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

Facebook Comments Box