दमक/झापाको कचनकवल गाउँपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा लोकप्रिय र मत्वकांक्षी निर्णय गरेको छ ।
गाउँपालिकाले कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने भएको छ । कक्षा १२ सम्म सबैलाई र क्याम्पस तहमा छात्राहरुलाई क्याम्पस तहको शिक्षा वापत कुनैपनि शुल्क नलिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । उनका अनुसार गाउँपालिकाको चौथो गाउँसभाबाट त्यस्तो निर्णय लिइएको हो ।
सो गाउँपालिकाका सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको पनि जनाइएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गाैला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न एक करोड रुपैयाँ बजेटको व्यवस्था पनि गरेको छ ।
गाउँसभाले गायक प्रमोद खरेललाई सदभावना दूत नियुक्त गरेको पनि जनाइएको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सदभावना दूत नियुक्त गरेको बताइएको छ ।