दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टी ले देशभरका विभिन्न निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रस्तरीय बिरोध प्रदर्शन गरेको छ । सो पार्टीले झापा क्षेत्र नं ५ अन्तर्गतको कमल ५ स्थित पाडाजुँगीमा र ३ नम्बर क्षेत्रीय समितिले भद्रपुरमा संघीयता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।
पाडाजुँगीमा राप्रपा क्षेत्रनं ५ का उपाध्यक्ष खेमराज तिम्सिनाको अध्यक्षतामा भएको कोणसभामा राप्रपा दमक नगर अध्यक्ष हेमराज सुवेदी , महाधिवेशन प्रतिनिधि विक्रम अधिकारी र पार्टी जिल्ला प्रवक्ता सान नेपालले मन्तव्य राखेका थिए । नागरिकता विधेयक, बढ्दो महँगी , एमसीसी र संघीयता खारेजी लगाय २२ बुँदे माग राख्दै राप्रपाले पम्प्लेटसहित प्रदर्शन गरेको हो । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले त्यहीँ माग पूरा गराउन पुनः सडकमा उत्रिएको राप्रपाले जनाएको छ ।
संगम चोकबाट सुरु भएको विरोध प्रदर्शन भद्रपुर बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै राप्रपा क्षेत्र नं ३ प्रदेश ‘ख’ का अध्यक्ष एवम् हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले राष्ट्रियता जोगाउन अब सबै नेपालीहरू लाग्नुपर्ने बताए । लिङ्देनले नागरिकता विधेयक खारेज गर्न माग गर्दै यो माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजीलगायतका माग राखेर गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।

