दमक/ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आफनो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक आफनो निर्वाचन क्षेत्र झापा ५ मा आएका अध्यक्ष ओलीले आज बिहिबार एकैदिन क्षेत्र अन्तर्गतका सबै पालिकाका कार्यकर्ताहरुलाई अलग अलग सम्बोधन गर्ने कार्यक्रम छ ।
हिजो विर्तामोडमा उत्पीडित जातीय मुक्ति समाज झापाका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गरेका उनले आज दमकस्थित पार्टी कार्यालयमा नगरस्थित पार्टीका अगुवा नेता, कार्यकर्ताहरुलाई स्थानीय चुनाव केन्द्रित भएर सम्बोधन गरेका छन । एमालेले दमक गत स्थानीय निर्वाचनमा चुनाव नहारेको दाबी गरिरहेका कार्यकर्ताहरु माझ अध्यक्ष ओलीले शुरुमै यहाँ – दमकमा) पार्टीले गत चुनाव हार्नुको कारणबारे जिज्ञासा राखेका छन । उनले कार्यकर्ताहरुलाई लक्षित गर्दै ‘विभिन्न हिसाबले विरोधीलाई सघाउने काम मात्र भयो भने हामी उनीहरुका भरिया मात्र हुन्छौं । ’ पनि भनेका छन ।
अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन दिए । ‘हामीले व्यक्ति उठाउने होइन,पार्टी उठाउने हो’ अध्यक्ष ओलीले भने ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’
अन्तरक्रियात्मक शैलीमा कार्यकर्ताहरुसंग गत स्थानीय चुनावका बिषयमा मात्रै नभई अध्यक्ष ओलीले विगतमा पहिलो संविधान सभा सदस्य निर्वाचनमा आफूले पराजय ब्यहोर्नुपरेको पनि स्मरण गरेका छन । २०६४ को निर्वाचन स्मरण गर्दै ओलीले त्यसबेला आफूलाई हराएर यहाँको जनताले गल्ती गरेको भन्दै त्योे प्रवृति दोहोर्याउनु बेठिक भएको पनि तर्क गरे ।
‘गल्ती कहिले कहिले हुन्छ तर पटक पटक दोहोरिनु हुदैन’ अध्यक्ष ओलीले दमकका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै भने ‘२०६४ सालमा पार्टीकै कतिपय साथीहरुले भोट अन्तै हालेर मलाइ हराउनु भयो । तर जित्ने अहिला कहाँ के गर्दैछन ?
गत ३० बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने चार पालिका मध्ये तीन पालिकामा नेतृत्व गुमाएपछि ओली पहिलो पटक यो क्षेत्रमा आएका हुन । दमकमा एमालेले अघिल्ला चुनावहरुमा जित्दै आएको नगर प्रमुख , उपप्रमुखसहित आंशिक वडामा र कमल गाउँपालिकामा नेतृत्व गुमाएको छ ।
नेतृत्व गुमाएका पालिका र यसपटक साख फर्काएको गौरादह नगरपालिकामा समेत अलग अलग कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएका छन । संघ र प्रदेश क्षेत्रको निर्वाचनको पूर्व तयारी भइरहँदा एमाले अध्यक्ष ओलीको आफनो निर्वाचन क्षेत्र लक्षित भेटघाट र पार्टीको आन्तरिक कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्थानीय निर्वाचन परिणामपछि यस क्षेत्रमा एमाले इतरका दलहरु समेत आगामी निर्वाचनलाई लक्षित गर्दै तयारीमा जुटिरहेका बेला ओलीले यस क्षेत्रका कार्यकर्ताहरुसंगको भेटघाटलाई विशेष महत्व दिएर भेटघाट र अन्तरक्रिया अघि बढाएका हुन ।
