दमक/ प्रदेश नम्बर एकमा एक बर्ष भित्र प्रहरीले विभिन्न अपराध सम्बन्धिका ८ हजार भन्दा बढी मुद्धा दर्ता गरेको छ । आर्थिक २०७८/०७९ मा ८ हजार ५५ बटा मुद्धा दर्ता भएका छन् भने ३९ करोड २१ लाख भन्दा बढी राजश्व संकलन भएको छ ।
प्रदेशमा कार्यरत सम्पूर्ण प्रहरी कार्मचारीहरुले आफ्नो पदिय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थको अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रहरी प्रमुखहरु बिच सहकार्य र कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा ठुलो संख्यामा मुद्धा दर्ता हुनुका साथै उल्लेख्य राजश्व संकलन गर्न सफल भएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको दाबी छ । सोही अवधिमा ३ हजार १ सय ७७ वटा मुद्दाहरु फर्छौट भएका छन । फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन भने ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन गरेको प्रहरीले जनाएको छ ।
यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९२९ रुपैयाँ राजश्व संकलन गरेको छ भने नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ३७ जना मानिस र ६४५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासीमा संलग्न ४७ जनालाई पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यू.फिट. काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैया राजश्व संकलन गरिएको प्रहरीको तथ्यांक छ ।