मोरङ/ बिराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अपहरणमा परेकी एक बर्षिया बालिकालाई प्रहरीले भारतको दरभंगाबाट सकुशल उद्धार गरेर फर्काएको छ भने अपहरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । बुढिगंगा गाउँपालिका १ का दिपेन यादबकी छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो ।
यसरी सम्भव भयो उद्धार
प्रहरीका अनुसार श्रावण २ गते बिहान ९ बजे रोडशेष चोकबाट बालिका अपहरणमा परेको १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुहको टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोलीले घटनाको सुक्ष्म अनुसन्धान गरी सफलता पाएको हो ।
प्रहरीले प्रविधिको उपयोग गरी अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न बिराटनगर महानगरपालिका ६ का २७ बर्षीय रबिन्द्र कुमार साहलाई सोमबार पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेसंगै भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको हो । अपहरणमा संग्लग्न बिराटनगर ५ कि २७ बर्षीया अनु साहलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका दुबै जनाबिच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादवसंग समेत चिनजान भएको थियो ।
दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरे संगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडशेष चोकमा आएका थिए । पुर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी,भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाएर रबिन्द्र कुमार नेपाल फर्केका पनि अनुसन्धानको क्रममा खूल्न आएको छ । सो घटनाबारे अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box