गौरीगञ्ज / गौरीगञ्ज गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७९र ०८० का लागि ११ औं गाउँसभा मार्फत ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँ बराबरको बजेट तथा कार्यक्रम पारित भएको छ । ‘ कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगो विकाससहित गौरीगंजको समुन्नति’ भन्ने मुल लक्ष्यसहित १० असारमा अध्यक्ष फुलवती राजवंशीबाट पेश भएको नीति र उपाध्यक्ष पुजन न्यौपाने कुँवरबाट प्रस्तुत भएको बजेट पारित भएको हो ।
एघारौं गाउँसभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेकी थिईन । सुकुम्बासी तथा अव्यवस्थित नागरिकलाई जग्गाधनी प्रमाण पुर्जा, कक्षा ११ र १२ का लागि निःशुल्क शिक्षा, उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति, छोरीको नाममा बाल खाता वचत कार्यक्रम, अस्पतालमा भिडियो एक्सरे सञ्चालन, न्यायिक सेवालाई व्यवस्थित गर्न ईजलास कक्ष निर्माण र व्यवस्थापन ,खानेपानी पाईप विस्तार, विपन्न परिवारलाई ट्युवेल अनुदान, सार्वजनिक स्थानहरूमा शौचालय निर्माणलगायतका कार्यक्रमहरू गाउँसभा मार्फत पारित भएको गाउँपालिकाका प्रवक्ता बद्री नारायण यादवले जानकारी दिए ।
निःशुल्क शिक्षा, छात्रवृत्तिका लागि ५० लाख बजेट
गाउँपालिकाले माध्यमिक तह ११र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्थाका लागि ४० लाख वजेट विनियोजन गरेको छ भने उच्च शिक्षा छात्रवृत्तिका लागि ५० लाख रूपैयाँ वजेट विनियोजन गरेको छ । गौरीगंज माविलाई नमुना विद्यालय विकास कार्यक्रम, स्थानिय विषय पाठ्यक्रम निर्माण, स्वयंसेवक शिक्षक अनुदान, शिक्षकको क्षमता विकास, विद्यालय कर्मचारी प्रोत्साहन कार्यक्रम, स्काउट व्यवस्थापनलगायत पालिकासंग विद्यार्थी कार्यक्रम ( अध्यक्ष उपाध्यक्षसंग विद्यार्थी – अभिभावक कार्यक्रम ) जस्ता लोकप्रिय कार्यक्रमहरू वजेट नीति तथा कार्यक्रममा समावेस भएको छ । गाउँपालिकाले शिक्षातर्फ २ करोड रूपैयाँ वजेट विनियोजन गरेको छ ।
गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई नजिकको अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्धि गराउने, सर्प डसाईका बिरामीको उपचारमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने छोरीलाई पनि आर्थिक रूपमा सक्षम बनाउनु पर्छ भन्ने उदेश्यसहित वैंक तथा वितीय संस्थामा बाल बचत खाता खोली गाउँपालिकाको तर्फबाट अनुदानको व्यवस्था मिलाउने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि १ करोड १० लाख रूपैयाँ वजेट विनियोजन गरेको छ । गौरीगंज अस्पतालमा भिडियो एक्सरे सञ्चालन, महिला स्वंयसेविका प्रोत्साहन कार्यक्रम, प्रसुती होम भिजिट कार्यक्रम निरन्तरता लगायतका नीति तथा कार्यक्रमका लागि वजेट विनियोज गरेको छ ।
रैथाने वाली प्रवद्वन कार्यक्रम
गौरीगंज गाउँपालिकाले कृषि क्षेत्रलाई लक्ष्य बनाएर ७५ लाख रूपैयाँ ( वार्डको बाहेक) बजेट विनियोजन गरेको छ । त्यसका लागि गाउँपालिकाले रैथाने वाली प्रवद्वन ( कृषक समूह) का लागि ३ लाख ६० हजार, हरियो मलका लागि कोसेवालीका बीउ वितरण ( ढैचा र मुङ) का लागि ३ लाख, गोठे मल सुधारका लागि भकारो पिठ निर्माणका लागि ७ लाख ५० हजार, कृषि औजार उपकरण वितरण कार्यक्रम अन्तर्गत पावर टिलर ५० प्रतिशत अनुदानमा १ लाख ५० हजार सम्म अनुदानका लागि १० लाख ३५ हजार, मकै छोड्याउने मेसिन ७५ प्रतिशत अनुदानका लागि ३ लाख ५१ हजार, विपन्न वर्गका लागि कृषकहरूलाई साना सिंचाईका लागि ६० प्रतिशत अनुदानमा मोटर वितरणलगायत प्रस्तावना तथा मागका आधारमा आधारित कार्यक्रमका लागि ( कृषि समूह, कृषि फर्म) ७ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी गाउँपालिकाले पावर स्प्रे ट्यांकी अनुदान, कृषि चुन अनुदान, झोलासहित च्याउ कीट अनुदानलगायत तराई सिंचित कृषि प्रर्वद्वन परियोजनाका लागि वजेट विनियोजन गरेको छ ।
बहु वर्षे घाँस खेती विस्तार, मखन निकाल्ने मदानी अनुदान, व्यवसायिक बाख्रा पालनका लागि गोठ सुधार कार्यक्रम, माछा पोखरी निर्माण, पशु स्वास्थ तालिम, साना बंगुर सुँगुर खोर सुधार, कुखुरा पालनका लागि गोठ सुधार, मोटरसहितको च्यापकटर अनुदान लगायत विभिन्न पशु सम्बन्धि कार्यक्रमका लागि ३५ लाख रूपैयाँ वजेट गाउँपालिकाले विनियोजन गरेको छ ।
एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीको रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
साथै गाउँपालिकाको गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेको धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा निरन्तरता दिएको छ । एक घर एक दुधालु गाई, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँंवरले आर्थिक वर्ष २०७९/८० को वजेट प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष कुँवरले गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को लागि ४७ करोड २८लाख ८९ हजार ३ सय ७० रूपैयाँ अनुमानित वजेट प्रस्तुत गरेकी थिईन् । गाउँसभामा आागामी आर्थिक वर्षको आय –व्ययको अनुमान विवरण प्रस्तुत गरेकी हुन् ।
उनले चालू व्यय तर्फ २५ करोड ८६ लाख २३ हजार, पुजीँगत तर्फ २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ प्रस्तुत गरेकी थिईन । आय तर्फ नेपाल सरकार समानिकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान १८ करोड ९३ लाख, राजस्व बाँडफाँड संघिय सरकार ९ करोड ६२ लाख ३२ हजार, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्रोत रू २ करोड ७ लाख रहेको उपाध्यक्ष न्यौपानेले सार्वजनिक गरेकी थिईन ।
न्यौपानेले आर्थिक वर्ष २०७९/०८० का लागि गौरीगञ्ज गाउँपालिकाको प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ करोड, पुँजीगत तर्फ २ करोड २५ लाख, कृषिमा ७५ लाख, पशुसेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ करोड, स्वास्थ्यमा १ करोड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पुर्ण सरसफाईमा ३ लाख, शहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ करोड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रूपैयाँ वजेट विनियोजन भएको सार्वजनिक गरेकी थिईन ।
उत्कृृृष्ट कर्मचारीलाई सम्मान
गौरीगंंज गाउँपालिकाले वर्षको उत्कृष्ट कर्मचारीको रुपमा शाखा अधिकृत बिरेन्द्र खड्कालाई सम्मान गरेको छ । एघारौं गाउँसभा को अबसरमा खड्कालाई नगद रु १५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । बर्ष दिनको कार्य सम्पादन को आधारमा उनलाई बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो ।
त्यसैगरी कार्यक्रममा लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गरि अबकास भएका महेश्वर कार्की र कमला कार्की लाई दोसल्ला ओढाएर सम्मान पत्र सहित बिदाई गरिएको छ भने लामो समयदेखि कर्मचारीका रुपमा सेवारत रहि अबकास प्राप्त राजन घिमिरेलाई पनि सम्मान पत्र सहित दोसल्ला ओढाएर बिदाई गरिएको छ । त्यसैगरी लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाका रुपमा सेवा गरी अबकास प्राप्त अहिल्या दास र पवित्रा अर्याललाई जनही नगद रु ५० हजार सहित दोसल्ला ओढाएर सम्मान पत्र सहित बिदाई गरिएको छ ।
विभिन्न समिति गठन, न्यायिक समितिमा उपाध्यक्षको असन्तुष्टी
गाउँपालिकाले गाउँसभा मार्फत विभिन्न समितिहरू पनि निर्माण गरेको छ । अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन समिति, समाजिक समिति, सुशासन तथा स्थानिय सेवा समिति, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्रोत समिति, न्यायिक समितिहरू निर्माण भई गाउँसभामा पारित भएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिमा कार्तिकलाल राजवंशी, श्रवण गिरी, सुशील राई, राजभक्त सुनुवार, रेखा कुमारी राजवंशी रहेका छन् ।
त्यसैगरी विधायन समितिमा विजय प्रसाद सिंह, नेत्र बहादुर राजवंशी, लोकेन्द्र सिंह ताजपुरिया, मीनादेवी पासवान, मो. आसामुदिन मियाँ, सामाजिक समितिमा फेका गिरी, अघनु प्रसाद राजवंशी, नितेष साह, रेखा राजवंशी, सुशासन तथा स्थानीय सेवा समितिमा किनालाल राजवंशी, सन्तलाल ताजपुरिया, रिंकुदेवी राम, कमलादेवी अधिकारी, निरा ऋषिदेव, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्रोत समितिमा बद्री नारायण यादव, देवनारायण सिंह गन्गाई, दिनेश प्रसाद गनगाई, दुर्गा परियार, कृष्ण महतो रहेका छन ।
न्यायिक समिति संयोजकमा गाउँपालिका उपाध्यक्ष रहने व्यवस्था अनुरुप न्यायिक समिति संयोजकमा पुजन कुँवर रहेकी छिन भने सदस्यहरुमा गंगाप्रसाद राजवंशी र राधा अधिकारी चुनिएका छन । गाउँ सभामा न्यायिक समिति सदस्यको चयनमा भने संयोजक तथा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले आपत्ति जनाएकी छिन । उनले आफूलाई न्यायिक समिति सदस्य नाम प्रस्ताव गर्न लगाएर अध्यक्षले अर्कै नाम घोषणा गरेको गुनासो राखेकी छिन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू संयोजक रहेको न्यायिक समिति नगर सभाका १२ जना सदस्यहरुको सहमति बिना बनाइएको भन्दै आपत्ति जनाएकी हुन । अध्यक्ष राजवंशीले भने स्थानीय तह सञ्चालन सञ्चालन सम्बन्धि कानुनको परिधी भित्रै रहेर सभाले सदस्यहरुको चयन गरेको प्रतिक्रिया दिएकी छिन । हामीले विधि सम्मत सबै समिति गठन गरेका हौं उनले भनिन ।