दमक/ दमक नगरपालिकाले नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सहितको वजेट पारित  नभई नगर सभा स्थगित भएको छ । आज अपरान्ह बसेको  बैठकमा  नगर सभा सदस्यहरु दलगत रुपमा विभाजित भएपछि प्रस्तुत वजेट पारित हुन नसकेको हो ।

नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले राप्रपा र कांग्रेसका निर्वाचित नगर प्रमुख उपप्रमुखलाई असहयोग गरेको झल्को नगर सभामा देखिएको थियो ।   दिउँसो १ वजे बोलाईएको नगरसभा   २ वजे पछि  प्रारम्भ गर्दै सभाध्यक्ष तथा नगर प्रमुख राम कुमार थापाले सभामा कार्यसूची पेश गरेका थिए ।  बहुमतमा रहेका एमालेका जनप्रतिनिधिहरुले विरोधमा उत्रिएका थिए । त्यसपछि असार १० गते सभामा नगर उप प्रमुख तथा बजेट तर्जुमा समितिकी संयोजक रेगिना भट्टराई प्रसाईले पेश गरेको बजेट , नीति तथा कार्यक्रममा छलफल प्रारम्भ भएको थियो । छलफल अघि नै नगरसभा सदस्यहरुले लिखित रुपमा नगर प्रमुख समक्ष समक्ष सुझाव पेश गरेका थिए । यसका लागि असार २० गते सम्मको समय निर्धारण गरिएको थियो ।

त्यसैबेला लिखित सुझाव पेश गरेका सभासद तथा नगरसभामा सहभागी अन्य सभासदहरुले सभामै उभिएर सुझाव पनि राख्न भ्याँए । सभाध्यक्षकै अनुमति पाएपछि नगरसभासदहरु कमल श्रेष्ठ, नरेश बन्जरा, चन्द्रकला विक, ललित बिक, प्रकाश बुढाथोकी र टीकामाया ठटालले आ–आफनो धारणा राखेका थिए । सबैका लागि आफ्ना राय र सुझाव राख्न भनेर थापाले ५ मिनेटको समयावधि छुट्याइदिएका थिए । निर्धारित समयसीमामा आफना सुझाव राख्ने क्रममा सदस्य श्रेष्ठले बढी समय लिएपछि सभाध्यक्षको आदेशमा बन्द गराइएको थियो । आफुले लेखेर ल्याएका सुझावहरु नगरसभामा सुनाउन समेत समय नपाएकोमा सदस्य श्रेष्ठले आपत्ति जनाएका थिए । त्यसपछि अन्य सभासदस्यहरुले आ आफ्नो राय पेश गरेका थिए ।

नगरसभामा राय तथा सुझाव पेश भएपछि सभाध्यक्ष बजेट तर्जुमा समितिकी संयोजक तथा उप–प्रमुख रेगिना भट्टराईलाई रोष्टममा उभिएर बजेट पास गर्ने प्रस्ताव प्रस्तुत गर्न निर्देशन दिए । भट्टराईले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्नका लागि भनेर सभामा पेश गरिन् । यसपछि सभाध्यक्षले सभासदहरुलाई बजेट पास गर्न संकेत गरे । बजेट पास गर्दछु भन्नेहरुले हात उठाउँनुस भन्दा  कम संख्यामा  हात उठ्यो ।, हुँदैन भन्नेले हात उठाउनुहोस भन्दा कमल श्रेष्ठले हुँदैन भन्ने संकेत गरे तर अधिकाशं सदस्य मौन थिए ।

सभाध्यक्षले वजेट पास भएको भनेर घोषणा गरे ।  त्यसपछि भने एमालेबाट निर्वाचित सभासदहरुले  सभाध्यक्षको चर्को बिरोध गरे । चर्को बिरोध र भनाभन पछि अन्तत सभाध्यक्ष तथा नगर प्रमुख थापाले सोमबारको सभा स्थागीत गरे । सबैको राय र सुझावलाई मध्यनजर गर्दै असार १० गते नगरभासमा  पेश भएको बजेट, नीति तथा कार्यक्रमलाई परिमार्जन गरि असार २९ गते पूनः नगरसभामा पेश गरिने भनी बैठक स्थगित गरिएको थियो ।

Facebook Comments Box