झापा/ दमक २ स्थित खेतको बीचमा शुक्रबार राती जमेको पानीमा छटपटाइरहेको अवस्थामा उद्धार गरिएका तेह्रथुमका एक व्यक्तिको तत्कालै मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको फेदाप गाउँपालिका वडा नं ४ स्थायी घर भएका ५५ बर्षिय राम बहादुर राई रहेका छन ।

राती करिब ९ बजे खेतको बीचमा मान्छे गुहार ..गुहार…. भन्दै एक व्यक्ति कराईरहेको आवाज सुनेका स्थानीयबासीले तत्काल उनलाई खेतको बीचमा देखेपछि उद्धार गरेर पानीबाट बाहिर ओभानो ठाउँमा निकालेका थिए । सो लगत्तै राईको मृत्यु भएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीले राईको शरिरमा कुनै चोटपटक घाउ नदेखिएको बताएका छन । घटनाको विस्तृत अनुसन्धान बाँकी छ । उनी २१ असारमा तेह्रथुमबाट झापा झरेका बताइएको छ । उनका छोराछोरी दमकमा बस्दै आएका कारण पारिवारिक भेटघाटका लागि दमक आएका बताइएको छ । उनको शव पोष्टमार्टमका लागि शनिबार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डिएसपी गिरीले बताए । डिएसपी गिरीले निष्कर्ष न्यूजसंग भने “हामी सवा ९ बजे घटनास्थलमा पुग्दा मृत्यु भइसकेको थियो । पोष्टमार्टमा राम्रो होस भन्ने उद्धेश्यले धरान पठाएका हौं” । रातको समयमा गुहार गुहार…को आवाज पनि सुनिनु र उनको मृत्यु अस्वभाविक रुपमा खेतको बीचमा हुनुले उनको मृत्यु रहस्यमयी हुन सक्ने अांशका जान्ने सुन्नेहरुले गरेका छन ।

Facebook Comments Box