दमक/ दमकका सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद प्रकरणको छानविन गर्न नेकपा (एकीकृत समाजवादी) को स्थानीय कमिटीले माग गरेको छ ।
१७ वटा सामुदायिक बिद्यालयका छात्रालाई सेनेटरी प्याड वितरणका लागि नगरपालिकाले अपनाएको खरिद प्रकरणमा चलखेल भएको बिषय सञ्चारमाध्यमहरुबाट बाहिरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै नेकपा एकीकृत समाजवादीले सत्य तथ्य बाहिर ल्याउन आवश्यक छानबनि गर्न माग गरेको हो । पार्टीको दमक नगर कमिटी अध्यक्ष महेश घिमिरेले विज्ञप्ति जारी गर्दै तत्काल छानविन गर्न माग गरेका हुन् ।
दुईपटक बोलपत्र मूल्यांकन समितिले अस्वीकृत गरेको जस्मिन हाइजिन प्रोडक्टसँग नगरपालिकाले करिब २० लाखमा खरिद सम्झौता गरेको ब्यहोराको समाचार बाहिर आएको छ । करिब ३४ लाखको सेनिटरी प्याड दमकका १७ सामुदायिक विद्यालयमा जस्मिनले पुर्याएको छ ।
नगरपालिकाले शुरुमा बोलपत्र प्रकाशन गरेर न्यूनतम मूल्यमा सेनेटरी प्याड उपलब्ध गराउन सक्ने कम्पनीलाई सेनेटरी प्याड आपूर्ति प्रकृयामा आउन भनेको थियो । सो क्रममा पेश भएका दररेटलाई अस्विकार गर्दै सो प्रकृया बिचैमा छोडेर जस्मिनसंग महंगो दरमा सेनेटरी प्याड माग गरेको थियो । सो बापतको रकम जस्मिनले भुक्तानी पाएको छैन ।
नगरपालिकाले शुरुमा एकमुष्ट खरिद गर्ने भनेको सेनेटरी प्याडको पर्न आउने मुल्य बराबरको रकम विद्यालयका खातामा पठाएर बिद्यालयलाइनै भुक्तानी दिन भनेको थियो । तर धेरैजसो बिद्यालयहरुले आफनो खातामा आएको रकम खर्च गर्ने प्रकृया मिचेर जस्मिनलाई सो रकम दिन नसक्ने भन्दै इन्कार गरिरहेका छन । नगरपालिकाले खरिद गरेको सामान नगरपालिका आफैंले भुक्तानी दिनुपर्नेमा बिद्यालयको खातामा रकम पठाउनुले यो प्रकृयामा नगरपालिका आफू पन्छिएर बिद्यालयहरुलाई फसाउन खोजेको बिद्यालयका प्रशासकहरुको दाबी छ ।
