
दमक/ दमक ३ को आमचोकमा महिलाहरुको स्वास्थ्यलाई लक्षित गर्दै आइतबार एक दिने स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ । आंग खस्ने तथा पाठेघरको मुखको क्यान्सर परिक्षण, प्रसब फिष्टुला, स्तन क्यान्सर परीक्षण सम्बन्धि निशुल्क शिविर सम्पन्न भएको हो ।
वडा नं ३ स्थित सहरी स्वास्थ्य केन्द्रमा भएको स्वास्थ्य शिविरमा १४० जना महिलाको स्वास्थ्य परिक्षण गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब देवीका न्यौपानेले जानकारी दिए । दमक नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र प्रदेश नम्बर १ र धरानस्थित बीपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग रहेको थियो ।
शिविरमा परिक्षण गरेका मध्ये २ जना महिलामा पाठेघरको मुखको क्यान्सर, १० जनामा पाठेघर खसेको र ४ जनामा प्रसब फिस्टुला सम्बन्धि समस्याको लक्षण देखिएको न्यौपानेले जानकारी दिइन । क्यान्सर पोजेटिभ देखिएका र प्रसब फिष्टुला देखिएका महिलाको थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । त्यसैगरी पाठेघर खसेका महिलाको उपचार सुरु गरिएको र अन्य बिरामीहरुलाई पनि औषधि समेत निशुल्क वितरण गरिएको थियो ।
दमक वडा नम्बर ३ का वडा अध्यक्ष नविन बरालको अध्यक्षतामा भएको स्वास्थ्य शिबिर उद्घाटन कार्यक्रममा उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । उनले सुरक्षित प्रसुतीका लागि अभैm पनि जनचेतनाको अभाव रहेको बताइन । स्वास्थ्य संस्थामा गएर प्रसुती गराए बिभिन्न जोखिमहरु कम हुने भए पनि कतिपय महिलाहरु अभैm पनि स्वास्थ्य संस्थामा पुग्न नसकि रहेको उनले बताइन । कार्यक्रममा सुत्केरी भएका बेला उचित हेरचाह र उपचार नहुँदा महिलामा पाठेघरको मुखको क्यान्सर, पिसाब नरोकिने जस्ता समस्या देखिने प्रतिष्ठानका प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए ।