झापा/ झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोलमा हत्या गरेर शव बोरा भित्र छोडने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सो ठाउँको कच्ची सडक खण्डमा पर्ने ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भएसंगै हत्यामा संलग्न एकै परिवारका पति पत्नीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर आज ( आइतबार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ बर्षीया जानुका सुबेदी थापा, उनका ४९ बर्षीय पति बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ बर्षीय सुरेश परियार रहेका छन् ।
असार १२ गते ह्युम पाईप भित्र सेतो बोरामा अन्दाजी ४० बर्षीय पुरुष मानिसको शब दुर्गन्धित अबस्थामा फेला परेको थियो । सो घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतिय आधारकार्डको आधारमा भारत अहमदाबाद गुजरातका ४० बर्षीय जपडिया नरेश कुमार बाबु भाई रहेको खुलेको थियो । सोही आधारमा हत्यामा संलग्न रहेका तीनै जनालाई हिजो शनिबार इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले आज विर्तामोडमा पत्रकार सम्मेलन गरी जनाएको हो ।
