दमक/  प्रतिनिधि सभा सदस्यद्धय एलपी साँवा लिम्बु र महेन्द्रकुमारी लिम्बुले झापा क्षेत्र नं ४ र ५ का  बाढी प्रभावित अलग अलग क्षेत्रमा आज स्थलगत निरिक्षण गरेका छन ।
क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद एलपी साँवाले सो क्षेत्र अन्तर्गतको गौरीगञ्ज गाउँपालिका वडा नं १ र २ का साथै शिवसताक्षीका विभिन्न भागमा कन्काई र कमल बनियानी खोलाको बाढी र कटानका कारण प्रभावित क्षेत्रको निरिक्षण गरि त्यहाँको अवस्थाबारेमा जानकारी लिएका हुन । सांसद लिम्बुले सो अवसरमा बाढी पीडितहरुसंग भेट गरी सो क्षेत्रमा अवलम्बन गर्न सकिने तत्कालिन र दिर्घकालिन उपायहरुका बारेमा परामर्श समेत लिँदै व्यवस्थापनमा ध्यान दिने आश्वासन दिए ।
सो अवसरमा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले बाढी प्रभावित वडाहरुको अवस्था स्थानीयस्तरबाट भए गरेका प्रयासहरुका बारेमा अवगत गराएकी थिइन । यसअघि मंगलबार गाउँपालिका अध्यक्ष फुलवती राजवंशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, कांग्रेस झापाका सभापति देउकुमार थेवे सहितको टोलीले ति क्षेत्रको स्थलगत जानकारी लिनुका साथै राहत तथा उद्धारमा चासो लिएको थियो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य महेन्द्रकुमारी लिम्बुले दुई दिनयता क्षेत्र नं ५ का विभिन्न स्थानमा पुगेर बाढीको प्रभाव र उत्पन्न समस्याहरुका बिषयमा जानकारी लिएकी छिन । उनले दमक , कमल र गौरादहका विभिन्न स्थानमा विशेष गरी रतुवा, मावा र कमल खोलाबाट प्रभावित क्षेत्रको निरिक्षण गरेर जानकारी लिएकी हुन । उनले बाढीबाट विस्थापितहरुको व्यवस्थापनका लागि तत्काल गर्नुपर्ने कामका बारेमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन पनि गरिन ।
नेपाली कांग्रेसकी नेतृ समेत रहेकी लिम्बुले खोला नदीको कटान र डुबानको समस्या हल गर्न आफूले संसदमा आवाज उठाउँदै तत्काल सरकारको ध्यानाकर्षण गराउने बताइन । सांसद लिम्बुलाई दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँ , वडाध्यक्षहरुले सम्बन्धित वडाको समस्याबारे जानकारी गराएका छन भने गौरादहमा रतुवा खोलाका कारण विस्थापितहरुको अवस्थाका बारेमा पनि स्थानीयहरुले ध्यानाकर्षण गराएका नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (क) का सभापति जिवन राईले बताए ।
यसैबीच गौरादह नगरपालिका वडा नं. ६ को तेलियाडाँगी बस्ती खोलाका कारण टापुमा परिणत भएको छ । रतुवाको बाढीले बस्तीलाई घेरे पछि सो बस्तीनै टापुमा परिणत भएको हो । सो क्षेत्रको जिल्लास्थित सरकारी अधिकारीहरुको उच्च टोलीले अनुगमन गरेको छ । बाढीको उच्च जोखिम क्षेत्रको अनुगमन गर्दै झापा जिल्लका प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालले धेरै क्षेत्र जोखिममा परेकाले त्यस्तो स्थानबाट प्रहरी, सेना, रेडक्रस कर्मी, विपद व्यवस्थापन टोली सहितले उद्धार गर्ने र उचित स्थानमा सार्ने काम भएको बताए । रिजालका अनुसार जिल्लामा पछिल्लो बर्षाले झण्डै १ हजार घर परिवार प्रभावित भएका छन् भने ३ सय घर परिवार विस्थापित बनेका छन् ।

Facebook Comments Box