दमक/ लगातारको बर्षाका कारण बिद्यालय सञ्चालनमा कठिनाई भएपछि झापाका कतिपय सामुदायिक तथा संस्थागत बिद्यालयहरुले पठनपाठन स्थागित गरेका छन ।
कतिपय पालिकामा रहेका सामुदायिक बिद्यालयहरुमा आसपास क्षेत्रका बाढी विस्थापितहरुलाई अस्थाई बसोबासको बन्दोबस्ती मिलाइएको छ ।
शिवसताक्षी नगरपालिकाले पालिका अन्तर्गतका बिद्यालयहरु बन्द गर्न सूचित गरेको छ भने दमक नगरपालिकाले अवस्था हेरि बिद्यालय खोल्ने वा बन्द गर्ने भन्ने निर्णय लिने अधिकार सम्बन्धित बिद्यालय प्रशासनलाई नै दिएको छ । दमक नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले सबै बिद्यालयको भौगोलिक अवस्था एकै किसिमको नभएकाले आवश्यकता र परिस्थिति अनुसार निर्णय लिनु भनिएको जानकारी दिए ।

अविरल वर्षाका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या र सबै ठाउँमा विद्यालयको बस जान नसक्ने भएकाले शिवसताक्षी नगरले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । विद्यायलसम्म पनि वर्षाका कारण आउन विद्यार्थीहरुलाई कठिनाई भएकाले १५ गतेबाट १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । विभिन्न विद्यालयहरुमा परीक्षा चलिरहेकाले आज हुने परीक्षा आइतबार हुनेछ ।
शिवसताक्षीका दक्षिणी क्षेत्र शिवगञ्ज, पाँचगाछी, जनता लागयतका क्षेत्रहरु डुवानमा परेका छन् । केही विद्यालयहरुमा बाढीपडितलाई सुरक्षित गरी राखिएको छ ।
गौरीगञ्जका कतिपय सामुदायिक बिद्यालयहरुको पठनपाठन रोकिएको छ भने वडा नं १ स्थित रामजानकी आधारभूत बिद्यालय र वडा नं २ स्थित शिशुकल्याण आधारभूत बिद्यालयमा बाढी पीडितहरुलाई मंगलबार रातीदेखिनै बसोबासको स्थान तोकिएको छ ।
गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने  कुँवरले गाउँपालिकाबाट घोषित रुपमै कुनै पनि बिद्यालय अहिले सम्म बन्द नगरिएको बताइन । विस्थापितहरुलाई राखिएका स्कूलको पठनपाठन यसैपनि प्रभावित हुनेनै भयो – उपाध्यक्ष न्यौपानेले भनिन । गौरादहको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलले मंगलबारनै अविरल बर्षाका कारण पठनपाठन प्रभावित हुन पुगेको सूचना गरिसकेको छ ।

गौरीगञ्जको शिशु कल्याण आधारभूत बिद्यालयमा राखिएका विस्थापितहरु खाना खाँदै ।

Facebook Comments Box