दमक/ रतुवा खोलामा ढुंगाको स्पर र बाँँध निर्माणको कार्य समयमा पूरा नहुँदा झापाको कमल गाउँपालिका वडा नं ६ को खयरबारी बस्ती खोला कटानको उच्च जोखिममा परेको छ ।
त्यहाँ बर्षौदेखि समस्याका रुपमा रहेको रतुवा खोलाको कटान नियन्त्रणका लागि भन्दै संघीय सरकारले बाँध बाँधेर ढुंगाको स्पर निर्माण गर्ने योजनाका लागि बजेट व्यवस्था गरेको थियो ।
बजेटको सदुपयोगका लागि जनताको तटबन्धन कार्यालय गैंडे मार्फत ठेक्का प्रकृयाबाट बाँध निर्माणको योजना सम्पन्न गर्न जिम्मेवारी लिएको कम्पनीले समयमै बाँध पूरा नगर्दा रातीदेखिको भारी बर्षासंगै आएको बाढीले क्षति पुरयाएको हो ।
त्यहाँ ढुंगाको ५०० मिटर लामो स्पर निर्माण गरिनुपर्नेमा प्राविधिक दृष्टिकोणबाट कमजोर बनाइएका कारण खोलामा आएको पानीको बहाबले क्षति गरेको स्थानीयबासीहरुको भनाई छ ।
सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराईले निर्माणाधिन बाँँधको परिपक्व किसिमको नहुँदा यस्तो अवस्था आएको बताए । उनले बाँध निर्माणमा सम्बन्धित निर्माण कम्पनीको लापरवाही रहेको औंल्याउँदै सम्बन्धित निकायलाई जानकारी गराइएको पनि जनाएका छन । स्थानीय युवा प्रदिप बस्नेतले सम्बन्धित निकायले रतुवा खोलाको तटबन्धनमा ध्यान नदिएको गुनासो गरे । समस्या प्राकृतिक भएपनि यसको निराकरणमा जिम्मेवार निकाय मुकदर्शक बनिदिँदा स्थानीयहरुले आक्रोश पोख्ने अवस्था सिर्जना भएको बताए ।

